कोहलपुर महोत्सवको भव्य उद्घाटन र तयारी


कोहलपुर पुष ७– “विश्वभरी फैलिएका हामी जनजाति, हामी आदिवासी, जोगाइ राखौं भेषभुषा, भाषा, संस्कृति“ भन्ने मूल नारासहित, आगामी पुस ९ गतेदेखि १७ गतेसम्म कोहलपुरमा आयोजना हुने प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण र सांस्कृतिक महोत्सव (एस्पो २०८१) को तयारी तीव्र गतिमा भइरहेको छ ।
महोत्सवको मुख्य उद्देश्य कृषि र पर्यटनका क्षेत्रलाई प्रोत्साहन दिने र व्यवसायिक गतिविधिहरूको संरक्षण तथा प्रवर्धन गर्नु हो । साथै, आदिवासी समाजको भेषभुषा, भाषा र सांस्कृतिक धरोहरको संरक्षणमा समेत ध्यान दिइनेछ। महोत्सवमा कृषि उत्पादका प्रदर्शनीहरू, पर्यटकीय आकर्षणहरूको जानकारी र सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट स्थानीय समुदाय र देशभरिका आगन्तुकहरूलाई नविनतम अवसरहरूको बारेमा जानकारी दिइनेछ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद, कोहलपुर बाँकेको आयोजनामा र श्री भावना एम्युजमेन्ट प्रालीको व्यवस्थापनमा संचालन हुन लागेको महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । महोत्सवलाई भव्य र सभ्य रूपमा संचालन गर्न आवश्यक सबै तयारीहरू भइरहेका छन् । हालसम्म ८० प्रतिशत काम पूरा भइसकेको महोत्सव समितिका संयोजक कृष्ण बहादुर पुन मगरले जानकारी दिएका छन् ।
स्टल निर्माण, बालउद्यान, घेराबार पर्खाल निर्माण लगायतका विभिन्न संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन्। मञ्च र गेट निर्माणका कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेका छन्। मेलामा लगभग २५० व्यापारिक स्टल र २० होटल स्टल रहनेछन्, जसको व्यवस्थापन संयोजक हेमन्त पुनले जानकारी दिएका छन् भने उनका अनुसार, अहिले सम्म ५० प्रतिशत स्टल बुकिङ्ग भैसकेका छन् ।
महोत्सवको उद्घाटन सत्रमा प्रदर्शन गरिने झाँकीहरूको तयारी पनि पूरा भइसकेको छ । मेलामा सहभागी हुने राष्ट्रिय स्तरका कलाकारहरूसँग सम्पर्क कायम गरिएको छ । कला र सांस्कृतिक समितिका अनुसार, ६७ भन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहनेछ ।
मेलामा बालउद्यान, कृषि प्रदर्शनी, व्यापारी स्टलहरू, हात्ती सफारी, उँट प्रदर्शनी, कराते र उस्सु खेलको डेमो प्रदर्शन गरिनेछ। साथै, मगरखाना, गरुङ्ग खाना, थारु परिकार, नेवार खाना र अन्य जातीय परिकारहरूको प्रदर्शनी पनि गरिनेछ । यसका अतिरिक्त, स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको अद्वितीय प्रस्तुति पनि रहनेछ । आयोजकहरूले यस महोत्सवमा विविध सांस्कृतिक र परम्परागत गतिविधिहरूको समावेश गरिने बताएका छन्, जसले सहभागीहरूलाई समृद्ध सांस्कृतिक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर