कोहलपुरमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्य रूपमा मनाइयो
कोहलपुर मंसिर २०, – कोहलपुर नगरपालिकाले “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका: स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने नाराका साथ २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ भव्य रूपमा मनाएको छ। कार्यक्रमको प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सङ्गिता सुबेदीले महिला स्वास्थ्य स्वयंसेविकाहरूले कोहलपुर नगरभित्र स्वास्थ्य सेवा प्रवाहमा देखाएको लगनशीलता र मेहनत अतुलनीय रहेको बताउँदै उहाँहरूको योगदानलाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “महिला स्वास्थ्य स्वयंसेविकाहरूको निस्वार्थ सेवा र समर्पणप्रति नगरपालिकाको गहिरो कृतज्ञता छ । तपाईंहरूको कामको प्रशंसा गरेर म कहिल्यै थाक्दिन। कोहलपुर नगरपालिकाले अवकाशप्राप्त स्वयंसेविकाहरूको लागि रु. ५० हजार को सम्मान रकम प्रदान गर्ने निर्णय ,छ जसले यो सम्मानलाई थप मजबुत बनाएको बताउनुभयो।” सुवेदीले स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवासुविधा थप गर्न प्रदेश र संघ सरकारलाई आग्रह गर्दै कोहलपुर नगरपालिकाले स्थानीय स्तरबाट बीमा कार्यक्रम र अन्य सुविधाहरूको पहल गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरिले महिला स्वास्थ्य स्वयंसेविकाहरूको खाइपाइ आएको सेवा–सुविधा कटौती नगरिने र भविष्यमा थप सुविधा उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा पुर्याएको योगदानको उच्च कदर गर्दै नगरपालिकाले तपाईहरूलाई सबै प्रकारको साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।”
उहाँका अनुसार, महिला स्वास्थ्य स्वयंसेविकाहरूको मेहनतकै कारण कोहलपुर नगरको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएको छ। कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायका असल पथप्रदर्शकका रूपमा चित्रण गर्दै उहाँहरूको योगदानलाई “अतुलनीय” भन्नुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य तालिम, सेवाहरूको विस्तार, र सुविधाको अभिवृद्धिका लागि नगरपालिकाले निरन्तर पहल गर्दै जानेछ।”
कार्यक्रममा कोहलपुर वडा नं. १० की ६० वर्षीय महिला स्वास्थ्य स्वयंसेविका जुग्नि चौधरीलाई विशेष सम्मानसहित बिदाइ गरियो। उहाँले लामो समयसम्म मातृ शिशु स्वास्थ्य, सुरक्षित गर्भपतन, खोप अभियान, र जनस्वास्थ्य सुधारजस्ता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। महिला स्वास्थ्य स्वयंसेविकाको कार्यक्रम वि.सं. २०४५ मा सुरु भएको हो। यस कार्यक्रमले मातृ शिशु तथा परिवार योजना सम्बन्धी सेवाहरू जनताको घरदैलोमा पुर्याउन महत्वपूर्ण योगदान गर्दै आएको छ। महिला स्वास्थ्य स्वयंसेविकाले प्रजनन स्वास्थ्य, परिवार योजना, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी शिक्षाजस्ता विषयमा व्यापक काम गरिरहेका छन् ।
साथै, यौन तथा यौनजन्य रोग, सरुवा र नसर्ने रोग, व्यक्तिगत सरसफाइ, किटजन्य रोग नियन्त्रण र अन्य जनस्वास्थ्य अभियानहरू सञ्चालन गर्दै आएका छन्। दिवसको अवसरमा प्लेकार्डसहित नगरको मुख्य सडकमा र्याली आयोजना गरियो। र्यालीमा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय समुदायका प्रतिनिधिहरू, तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता थियो। र्यालीपछि आयोजित औपचारिक कार्यक्रममा स्वयंसेविकाको भूमिकाबारे विशेष छलफल गरिएको थियो। महिला स्वास्थ्य स्वयंसेविकाहरूले कोहलपुरजस्तै स्थानीय क्षेत्रमा मात्रै नभई राष्ट्रव्यापी रूपमा प्रजनन स्वास्थ्य, किशोरावस्था शिक्षालगायत विभिन्न अभियानहरूमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् । उहाँहरूको सेवाले स्थानीय समुदायको स्वास्थ्य अवस्था सुधार्न मात्र होइन, जनचेतना अभिवृद्धिमा पनि ठूलो प्रभाव पारेको छ ।