साइकल दौड प्रतियोगिताको तयारी पूर्ण
कोहलपुर मंसिर २०- आगामी पुस ६ गते नेपालगन्जमा राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आयोजना हुने भएको छ। नेपालगन्ज साइक्लिङ क्लबले उपमहानगरपालिकासँगको सहकार्यमा यस प्रतियोगिताको आयोजना गर्दै आएको हो। क्लबका अध्यक्ष प्रदीप सापकोटाले प्रतियोगिताको मिति सार्वजनिक गर्दै खेलाडीहरूलाई दर्ता गर्न अनुरोध गरेका छन्।
प्रतियोगितामा सहभागी हुनका लागि नाम दर्ता मङ्सिर ३० गतेसम्म गर्न सकिन्छ। यस वर्ष एमटीबी पुरुषतर्फ खुल्ला ३६ किलोमिटर र पुरुष मास्टर्स खुल्ला २५ किलोमिटरका लागि खेलाडीहरूलाई सहभागीता जनाउन मौका दिइएको छ। त्यस्तै, साधारण साइकल पुरुषतर्फ २२ किलोमिटर र महिला तर्फ १६ किलोमिटरका प्रतियोगिता पनि आयोजना हुनेछ, जसमा केवल बाँके जिल्लाका खेलाडीहरूले मात्रै भाग लिन सक्नेछन्।
यो वर्षको विशेष आकर्षण भनेको २० वर्ष उमेर समूहका विद्यार्थीहरूको लागि एमटीबी स्कुलस्तरीय १६ किलोमिटर साइकल दौड प्रतियोगिता हो, जुन नेपालगन्ज उपमहानगरपालिकाभित्रका विद्यार्थीहरूका लागि मात्रै खुला गरिएको छ।
नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सापकोटाले यस संस्करणलाई भव्य र राष्ट्रियस्तरको बनाउने लक्ष्यका साथ तयारी अघि बढाएको बताएका छन्। नेपालगन्ज उपमहानगरपालिका र साइक्लिङ क्लबको सहकार्यले यस प्रतियोगितालाई थप प्रभावशाली बनाउन काम गरिरहेको छ।