वेस्टर्न अस्पताल नेपालगन्जमा क्रिटिकल केयर कोर्सको शुभारम्भ
कोहलपुर, मङ्सिर १७- नेपालगन्जस्थित वेस्टर्न अस्पतालले क्रिटिकल केयर क्षेत्रमा कार्यरत नर्सहरूको क्षमता वृद्धिका लागि पाँच हप्ते विशेष प्रशिक्षण कोर्सको औपचारिक शुभारम्भ गरेको छ। क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु गरिएको यस कोर्सले नर्सहरूको सीपलाई सुधार गरेर बिरामीहरूको हेरचाहमा गुणस्तर बढाउने लक्ष्य राखेको छ।
कोर्सको उद्घाटन समारोहमा वेस्टर्न अस्पतालका अध्यक्ष डा. कल्पना थापाले यस कार्यक्रमको उद्देश्य उच्च दबाबका वातावरणमा काम गर्ने नर्सहरूको दक्षता र आत्मविश्वास वृद्धि गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार, यस कोर्सबाट नर्सहरूले अत्याधुनिक उपकरणहरूको प्रयोग र जटिल केसहरूको व्यवस्थापनमा दक्षता प्राप्त गर्नेछन्, जसले नेपालका अस्पतालहरूमा क्रिटिकल केयर सेवा प्रदान गर्ने स्तरलाई सुधार गर्नेछ।
नेपाल मेडिकल एसोसिएसन भेरी शाखाका अध्यक्ष डा. विनोद थापाले कार्यक्रमको महत्त्व र यसका दीर्घकालीन प्रभावहरूको बारेमा चर्चा गर्दै यसको आयोजना क्षेत्रीय स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
यो क्रिटिकल केयर कोर्स नेपालका पश्चिमी क्षेत्रमा पहिलो पटक आयोजना गरिएको विशेष प्रशिक्षण कार्यक्रम हो। कोर्समा सहभागि नर्सहरूले विभिन्न जटिल र जीवन रक्षात्मक प्रक्रियाहरूमा आफ्नो सीप सुधार्ने अवसर पाउनेछन्। कार्यक्रममा वरिष्ठ सर्जन डा. रूपानन्द अधिकारी, डा. किरण गुरुङ, डा. पारस पाण्डे र अन्य प्रमुख चिकित्सकहरू उपस्थित थिए।
यस प्रकारका कोर्सहरूले नर्सिङ क्षेत्रमा सुधार ल्याउँदै स्वास्थ्य सेवाको स्तरलाई उकास्न मद्दत पुर्याउनेछ भन्ने अपेक्षा गरिएको छ।