पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्काल छानबिन गर्न एम्नेस्टीको माग
एजेन्सी मंसिर १३,- पाकिस्तानमा विपक्षी दल पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई) का प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने एम्नेस्टी इन्टरनेशनलले आग्रह गरेको छ।
एम्नेस्टीले प्रदर्शनकारीहरूमाथि भएको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै यसमा छानबिन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। यसका अनुसार, प्रदर्शनकारीहरूविरुद्ध ठूलो मात्रामा हिंसा र दमन गरिएको छ। इन्टरनेट सेवा निलम्बन गरिएको र धेरैलाई बन्दी बनाइएको भन्दै एम्नेस्टीले ती घटनाहरूको निष्पक्ष छानबिन गर्नुपर्ने कुरामा जोड दिएको छ।
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै गएको आइतवारदेखि सुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारीहरू पक्राउ परेका छन्। प्रदर्शनकारीहरूले आफ्नो आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका थिए, तर आज उनीहरूले प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन्।
प्रहरी र प्रदर्शनकारीहरू बीचको झडपमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका खबरहरू छन्। एम्नेस्टी इन्टरनेशनलले पाकिस्तान सरकारसँग प्रदर्शनकारीहरूमाथिको कारबाहीको पारदर्शी र स्वतन्त्र छानबिन गर्न आग्रह गरेको छ।