महिला अधिकार र लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा प्रदेश स्तरीय सम्मेलन
कोहलपुर मंसिर १२- कमिट नेपालले बाँकेको नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रदेश स्तरीय २ दिने महिला सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा प्रमुख अतिथिको रूपमा प्रतिनिधि सभा सदस्य माननीय किशोर सिंह राठौर र कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य महिलाको हक र अधिकारको बारेमा जनचेतना फैलाउनु र समाजमा लैङ्गिक समानता र महिलाको अधिकार सुनिश्चित गर्नको लागि साझा प्रयास गर्न उत्प्रेरित गर्नु रहेको थियो । सम्मेलनमा महिलाका अधिकारका विविध पक्षहरूमा चर्चा गरियो, जसमा महिलाको शिक्षा, स्वास्थ्य, समान रोजगार अवसर, कानूनी अधिकार, र सुरक्षा लगायतका महत्त्वपूर्ण विषयहरू समावेश थिए ।
सम्मेलनमा प्रमुख अतिथी माननीय किशोर सिंह राठौरले महिलाको हक र अधिकारलाई अझ बलियो बनाउने र उनीहरूको सुरक्षा र समानताको सुनिश्चितता गर्न राज्य र समाजको साझा जिम्मेवारीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणका लागि कानून र नीतिहरूमा सुधारको आवश्यकता रहेको औंल्याए ।
यस्तै कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले महिलाको अधिकार र लैङ्गिक हिंसाविरुद्धको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, महिलालाई समानता र न्याय दिलाउने उद्देश्यले संस्थाले आगामी दिनहरूमा थप कार्यक्रम र पहलहरू गर्ने बताएका थिए । उनले महिलाका हकहरूको संरक्षण र लैङ्गिक समानताका लागि कडा कदम चाल्नु आवश्यक रहेकोमा जोड दिए ।
महिलाको शिक्षा, स्वास्थ्य र रोजगारको अधिकारको महत्त्व र यी अधिकारहरूको प्राप्तिका लागि आवश्यक कानूनी र संरचनागत सुधारका बारेमा छलफल गरिएको थियो । महिलाको शारीरिक, मानसिक र कानूनी सुरक्षा सुनिश्चित गर्नका लागि समग्र समाजको सक्रिय सहभागिता आवश्यक रहेको कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश स्तरिय माननीय महिला सदस्यहरूको भनाइ रहेको थियो ।
यस कार्यक्रमले महिलाको हक र अधिकारको रक्षा गर्नका लागि अझ बलियो कदम चाल्नको लागि समाज र सरकारलाई प्रेरणा दिएको विश्वास व्यक्त गरिएको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लका महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।