नेपालगन्ज उपमहानगरपालिकाको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा लागू गर्न निर्देशन

कोहलपुर मङ्सिर ७ गते – नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरूलाई १० प्रतिशत अनिवार्य निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ। उपमहानगर प्रमुख प्रशान्त विष्टले जारी गरेको सूचनामा, पालिकाभित्र संचालित सबै निजी, सामुदायिक, ट्रष्ट र लोककल्याणकारी अस्पताल र स्वास्थ्य संस्थाहरूले आफ्नो सेवाग्राही र शैयाको कम्तीमा १० प्रतिशत हिस्सा गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृत र अन्य जरुरी सेवा प्रयोग गर्ने नागरिकलाई निःशुल्क उपचार प्रदान गर्नुपर्नेछ।

नेपालको संविधान २०७२ को धारा ३५ अनुसार प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको अधिकार छ र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्नु पर्ने संवैधानिक प्रावधानमा आधारित यो निर्देशन जारी गरिएको हो।

उपमहानगरपालिकाले यस निर्णयको कार्यान्वयनमा चाँडै निगरानी र निरीक्षण गर्न वचनबद्ध रहेको बताएको छ। यो कदम स्वास्थ्य सेवा पहुँचलाई सुधार्ने र गरिब तथा विपन्न वर्गलाई राहत पुर्याउने उद्देश्यले उठाइएको हो।

नेपालगन्ज पछिल्लो समय अस्पतालको केन्द्र बन्दै गएको छ, जहाँ निजी र सामुदायिक अस्पतालहरूको संख्या बढ्दै गएको छ। यस अघि विभिन्न अस्पतालहरूमा निःशुल्क सेवाको अभावमा गुनासो आइसकेको थियो, जसलाई सम्बोधन गर्न यो निर्णय गरिएको हो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर