नेपालगञ्जमा घर नम्बरिङ कार्य तीव्र गतिमा

कोहलपुर, मङ्सिर ५ – नेपालगञ्ज उप–महानगरपालिकामा पहिलो पटक घर नम्बरिङ कार्य तीव्र गतिमा भइरहेको छ । यस कार्यको शुरुआत वडा नम्बर १, धम्बोझी क्षेत्रबाट गरिएको हो, जहाँ मेट्रिक प्रणालीको आधारमा घर नम्बरिङको प्रक्रिया सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता र वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले यो अभियानको महत्व र उद्देश्य बारे जानकारी दिँदै भने, “यस प्रणालीमा घरको नम्बरमा गुगल कोडसमेत समावेश गरिएको छ, जसको मद्दतले खोजिएको स्थानमा पुग्न अझ सहज हुनेछ। यो आजको डिजिटल युगमा अनिवार्य कार्यको रूपमा देखिन्छ ।

वडा नम्बर १ मा १५ वटा टोलहरू छन्, जसमा दुई हजार भन्दा बढी घरहरू रहेका छन्। उपमहानगरपालिकाका इञ्जिनियर चन्दनराज दाषले बताए अनुसार, मङ्सिर महिनाभित्र सबै घरको नम्बरिङ कार्य पुरा गर्ने योजना रहेको छ। यसका लागि आवश्यक प्रविधि र अन्य कर्मचारीहरूको परिचालन पनि गरिएको छ ।

घर नम्बरिङ कार्यमा प्रत्येक टोलको नाम र संख्या स्पष्ट रुपमा उल्लेख गरिएको छ, र उक्त संख्या टोलको शुरुवात स्थानबाट मिटरको हिसाबले राखिनेछ। साथै, गुगल कोड राखिने कारणले गर्दा कुनै पनि स्थानको पत्ता लगाउन सजिलो हुनेछ । यसका साथै, उपमहानगरपालिकामा सफ्टवेयर प्रणाली स्थापना गरिएको छ, जसको माध्यमबाट घरधनीहरूको विस्तृत विवरण समेत थाहा पाइनेछ ।

यो घर नम्बरिङ प्रक्रिया विशेष गरी घना नगरीय क्षेत्रका लागि फाइदाजनक हुनेछ, जहाँ आपतकालीन सेवाहरू जस्तै एम्बुलेन्स र दमकलको सहज पहुँचका लागि यो प्रणाली अत्यन्त उपयोगी हुने उपमहानगरपालिकाले जनाएको छ। यसले तर्फबाट नागरिक सेवाहरूको स्तरमा सुधार ल्याउने विश्वास गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर