बाँके प्रहरीले कात्तिक महिनामा 118 मुद्दा दर्ता गरी 203 जना पक्राउ

कोहलपुर, मङ्सिर ५ – बाँके जिल्ला प्रहरी कार्यालयले गत कात्तिक महिनामा विभिन्न अपराधसम्बन्धी एक सय १८ वटा मुद्दा दर्ता गरेको छ। सोही समयमा २ सय ३ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जनाएको छ ।

प्रहरीका अनुसार, यस अवधिमा १२ वर्ष ५ महिना २० दिन कैद सजाय तोकिएका ४८ जना फरार अपराधीलाई पक्राउ गरिएको छ। पक्राउ परेका अपराधीहरूबाट पाँच लाख २० हजार एक सय ६८ रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै, ४० वटा पेण्डिङ मुद्दाहरूलाई फर्छ्यौट गरिएको छ भने चार सय १५ वटा ठाडो उजुरी दर्ता गरिएकोमा चार सय उजुरीको फर्छ्यौट गरिसकिएको छ ।

बाँके प्रहरीले २८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र २०८ ट्याब्लेट नाइट्राजेपामसहित २४ जनालाई लागूऔषध ओसारपसारमा संलग्न भई पक्राउ गरेको छ। अवैध गतिविधिहरू विरुद्ध कडा कदम चाल्दै दुई हजार ७ सय ८२ वटा सवारी साधनलाई कारवाही गर्दै २४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने तीन वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिइ ३० हजार रुपैयाँ जरिवाना गरेको छ । यसैबीच, २० लाख ७५ हजार ६५० रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामान र एक वटा अवैध ढुवानी कार पनि बरामद गरिएको छ ।

महिला र बालबालिका सम्बन्धी अपराधमा १० वटा मुद्दा दर्ता गरी ११ जना अभियुक्तलाई पक्राउ गरिएको छ भने घरेलु हिंसासम्बन्धी ४६ वटा उजुरीमाथि छानबिन गरेर ३० वटा फर्छ्यौट गरिएको छ ।

समुदाय प्रहरी सहकार्यअन्तर्गत लागूऔषधसम्बन्धी चार, आत्महत्या सम्बन्धी आठ, चोरी सम्बन्धी नौ, अल्पसङ्ख्यक समुदायसँग दुई र नागरिक सुनुवाईका दुई कार्यक्रम सञ्चालन गरिएको छ ।

साथै, कात्तिक महिनाको उत्कृष्ट प्रहरी इकाईको पुरस्कार इलाका प्रहरी कार्यालय बैजापुरलाई प्रदान गरिएको छ। चाडपर्व सुरक्षा योजना अन्तर्गत विभिन्न स्थानहरूमा कुकुरद्वारा चेकजाँच गरिएको र तीन जना प्रहरी कर्मचारीलाई अनुशासनहीन व्यवहारको कारण कारबाही गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

यसै गरी, बाँके प्रहरी हरेक महिनामा आफ्नो कार्यसम्पादनको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर