कर तिर्नु राष्ट्र निर्माणमा योगदान पुर्याउन हो : अध्यक्ष भट्टराई
कोहलपुर मंसिर ३- कर तिर्नु भनेको सरकारलाई पैसा दिनु होइन, राष्ट्र निर्माणमा योगदान पुर्याउन सहयोग भएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले बताएका छन् । १३ औं राष्ट्रिय कर दिवसको अवसरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
करको सही प्रयोगले नै राष्ट्रको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । हामीले करको अर्थ बुझेर त्यसको सदुपयोग गर्नुपर्छ उनले भने, समाजमा कर तिर्ने संस्कृतिको विकास गर्नु, र यसको सही प्रयोगमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका छन् ।
उक्त अवसरमा बोल्दै आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर अधिकृत पूर्ण प्रसाद न्यौपानेले कर प्रणालीको महत्त्वबारे प्रष्ट पार्दै, करदाताहरूसँगको सम्वादलाई अझ प्रभावकारी बनाउन आवश्यकता रहेको बताएका छन् । उनले करदाताहरूसँगको नियमित अन्तरक्रियाले उनीहरूलाई कर तिर्ने प्रक्रिया र यसको महत्त्वबारे सचेत गराउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी र करदाताहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूलाई कर प्रणालीका नयाँ नियम, सुधारका उपायहरू र तिनीहरूको वास्तविक उपयोगका बारेमा जानकारी दिइएको थियो । साथै, करदाताहरूले आफ्नो अनुभव र समस्याहरू पनि राखेका थिए, जसले आगामी दिनहरूमा कर प्रणालीलाई थप सरल र प्रभावकारी बनाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमले करदाताहरूसँगको सीधा सम्वादको माध्यमबाट कर प्रणालीमा सुधार ल्याउने र कर तिर्ने संस्कृतिको विकास गर्ने उदेश्यले आन्तरिक राजस्व कार्यालन नेपालगन्जको समन्वयमा उद्योग वाणिज्य संघ कोहलपुरको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।