दाङमा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस

दाङ, मङ्सिर १ – दाङ जिल्लामा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ। जिल्ला अनुगमन समितिले बबई, शान्तिनगर, दङ्गीशरण र गढवा गाउँपालिकाका विभिन्न घाटहरूको स्थलगत अनुगमन गरी राष्ट्रपति चुरे तराई मधेश विकास समितिलाई उत्खननका लागि सिफारिस गरेको हो ।

नदीजन्य पदार्थ उत्खननका लागि सम्बन्धित पालिकाहरूले घाटहरूको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन (आइइई) स्वीकृत गरिसकेका छन्। अनुगमन समितिका संयोजक नित्यानन्द शर्माका अनुसार, निर्धारित मापदण्ड र परिमाण अनुसार उत्खननका लागि चुरेले अन्तिम स्वीकृति दिएपछि स्थानीय पालिकाले प्रक्रिया अघि बढाउनेछन् ।

शर्माले भने, “अघिल्ला वर्षमा अनुगमन र ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले यो वर्ष समयमै ठेक्का प्रक्रिया पूरा गर्न अनुगमन कार्य सुरु गरिएको हो।” स्वीकृति प्राप्त भएपछि स्थानीय पालिकाले घाटबाट नदीजन्य पदार्थ आफैं उत्खनन गरी बेच्ने वा ठेक्का प्रक्रियामा जानेछन् ।

अनुगमन समितिले बबई नदी, शान्तिनगर, दङ्गीशरण र गढवा गाउँपालिकाका विभिन्न घाटहरूमा उत्खननका लागि सिफारिस गरेको छ। यसमा बबई गाउँपालिका-७ का कालीतारा, बेलासपुर, ओदाले घाट, बबई-५ का जलुके, हुरुम, मकै तारा, मकै दोभान, र बबई गाउँपालिका-१ का कल्लेरी दोभान लगायतका स्थानहरू छन्। त्यस्तै, शान्तिनगर र दङ्गीशरण गाउँपालिकाका विभिन्न घाटहरू पनि सिफारिस गरिएका छन् ।

गढवा गाउँपालिकाका राप्ती नदीका घाटहरू जस्तै बडहरा, रतनपुर, खड्गपुर, धरमपुर र झारबैरा घाटमा पनि उत्खननका लागि चुरेमा सिफारिस गरिएको छ ।

समितिले भनेको छ कि राजपुर, राप्ती, बङ्गलाचुली, घोराही र तुलसीपुर उपमहानगरपालिका क्षेत्रका घाटहरूमा अनुगमन प्रक्रियाबाहेक रहेको छ। अघिल्ला वर्षमा अधिकांश घाटहरूमा ठेक्का प्रक्रिया पूरा नभएकाले राजस्व उठाउनमा कठिनाइ आएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर