विश्व मधुमेह दिवसमा घोराहीमा प्रभातफेरी र र्याली
दाङ, कात्तिक २९ – विश्व मधुमेह दिवसको अवसरमा घोराहीमा सचेतनामूलक र्याली आयोजना गरिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि, र स्थानीय समुदायका सदस्यहरूको सहभागितामा यो र्याली सम्पन्न भएको हो । र्यालीको आयोजनामा बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक प्राइभेट लिमिटेड, नेपाल घरेलु उद्योग महासङ्घ दाङ र लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको संयुक्त योगदान रहेको थियो ।
सचेतनामूलक र्याली घोराहीका प्रमुख स्थलहरू—सहिदगेट, तुलसीपुरचोक, दामोदरचोक, बैंक रोड र हस्पिटल रोड हुँदै बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनिकको कार्यालयसम्म पुगेको थियो । र्यालीको उद्देश्य मधुमेहबारे जनचेतना फैलाउनु र यसका जोखिम र नियन्त्रणका उपायहरूमा जानकारी दिनु थियो ।
कार्यक्रममा बोल्दै डा. प्रकाश सुवेदीले मधुमेह रोग नियन्त्रणका लागि खानपान र नियमित व्यायामको महत्त्वलाई जोड दिएका थिए। उनले भने, “अधिकांश व्यक्तिहरूलाई खानपानमा असन्तुलनका कारण सुगरको समस्या देखिन थालेको छ । नियमित एक्सरसाइज नगरेपछि यो समस्या बढ्न सक्छ । उनले मधुमेहका कारण शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुनसक्ने उल्लेख गर्दै मृगौला, आँखा, मुटु, र पक्षघातजस्ता गम्भीर समस्याहरूको जोखिमको बारेमा चेतावनी दिए ।
नगरप्रमुख नरुलाल चौधरीले पनि स्वस्थ जीवनशैलीको महत्त्व र यसको समाजमा सकारात्मक प्रभावको बारेमा कुरा गरे । उनले भने, “स्वास्थ्य भनेको हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो । यो जति पैसा कमाए पनि प्राप्त गर्न सकिन्न। त्यसैले हरेक नागरिकले आफ्नो स्वास्थ्यको ध्यान दिन अनिवार्य छ।” नगरप्रमुख चौधरीले व्यक्तिगत स्वास्थ्यको ख्याल राख्नका लागि प्रत्येक व्यक्तिले दैनिक दुई घण्टा योग र व्यायाममा समय दिनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा ६३ जनाभन्दा बढी व्यक्तिहरूको सुगर परीक्षण पनि गरिएको थियो। यसबाट मधुमेहको रोकथाम र प्रारम्भिक चरणमा उपचारका महत्त्वपूर्ण संदेशहरू प्राप्त भएका छन् ।
यस कार्यक्रमले मधुमेहको जोखिम र यसको नियन्त्रणका उपायहरूलाई सबैसम्म पुर्याउन ठूलो भूमिका खेलेको छ ।