बाम्केमा सहुलियत पसलबाट ६९ हजार छुट
कोहलपुर कात्तिक २९ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयको बिक्री केन्द्रबाट बाँकेवासीले ६९ हजार रुपियाँ छुट पाएका छन् । कम्पनीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत बिक्री केन्द्रबाट बाँकेका नागरिकले ६९ हजार रुपियाँ छुट पाएका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलबाट बाँकेका नागरिकले ६९ हजार रुपियाँ छुट पाएको बताउनुभयो ।
“चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसल ९बिक्री केन्द्र०बाट कात्तिक २८ गतेसम्म ६९ हजार रुपियाँ बराबरको छुटमा खाद्य सामग्री बिक्री गरेका छौँ, यहाँका नागरिकहरूले चामल खरिद गर्दा उक्त रकम बराबरको छुट पाउनुभएको छ ।”
सूचना अधिकारी घिमिरेले भन्नुभयो, “अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठो लगायतका २८ किसिमका खाद्य बस्तु बिक्री भए पनि नेपालगन्जबाट केबल चामल मात्र बिक्री गरेका हौँ, चामल खरिद गर्ने नागरिकहरूले सो छुट पाउनुभएको हो ।”
नेपालगन्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको भएतापनि हालसम्म १३८ क्विन्टल चामल बिक्री भएको छ। “हामीले सहुलियत पसलबाट दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएका थियौँ, हालसम्म १३८ क्विन्टल बिक्री भएको छ,” घिमिरेले भन्नुभयो, “अरुवा मोटा, अरुवा सोना मनसुली, अरुवा मध्यम चामल र स्टिम जिरा गरी चार प्रकारका चामल बिक्री गरेका छौँ ।”
घिमिरेका अनुसार नेपालगन्जस्थित कार्यालयको बिक्री केन्द्रबाट अरुवा मोटा चामल ५० किलो, अरुवा सोना मनसुली २९ क्विन्टल, अरुवा मध्यम ३७।७५ क्विन्टल र स्टिम जिरा ७०।७५ क्विन्टल बिक्री भएको छ । उहाँका अनुसार ६३०० रुपियाँ क्विन्टल पर्ने अरुवा मोटा चामल ५८०० रुपियाँमा, ६५०० रुपियाँ पर्ने अरुवा सोना मनसुली र अरुवा मध्यम चामल ६००० रुपियाँ र ९४०० रुपियाँ पर्ने स्टिम जिरा चामललाई ८९०० रुपियाँ प्रति क्विन्टलका दरले बिक्री गरिएको हो । सबै प्रकारका चामलमा प्रति क्विन्टल पाँच सय रुपियाँ छुट गरी सहुलियत दरमा बिक्री भएको हो ।
नागरिकलाई दिएको छुट कटाएर १० लाख ३३ हजार ७५ रुपियाँको चामल बिक्री भएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सहुलियत बिक्री केन्द्र आगामी माघ २ गतेसम्म सुचारु हुने खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले जनाएको छ ।