नेपाल ट्रेड युनियन काँग्रेस बाँकेद्वारा जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
कोहलपुर कार्तिक २४– नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले “श्रमका सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मुल नारा सहित जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम बाँके जिल्लाका विभिन्न क्षेत्रका श्रमिकहरूको अधिकार र भलाइको संरक्षणका लागि आयोजित गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिह पुनले “श्रमको सम्मान गर्नु भनेको समाज र राष्ट्रको सम्मान गर्नु हो । श्रमिकहरूलाई मान्यता नदिइकन कुनै पनि राष्ट्रको विकास सम्भव नभएको बताए । उनले भने श्रमिक वर्गको श्रम नै राष्ट्रको शक्ति हो र यसका लागि हामी सबैले एकजुट भएर काम गर्नुपर्नेछ ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाली काँग्रेस बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेलले श्रमिकहरूको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै श्रमिकहरूको योगदानको महत्व उल्लेख गर्दै “श्रमको मूल्य कत्तिको महत्वपूर्ण छ भन्ने कुरा आजको यस कार्यक्रमले प्रमाणित गरिरहेको बताए । सामाजिक र आर्थिक विकासमा श्रमिक वर्गको योगदान बिना सम्भव नभएको समेत गौडेलले बताए । उनले भने नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकहरूको अधिकार र कल्याणका लागि संघर्ष गरेको छ, त्यो प्रशंसा योग्य रहेको धारण राखेका थिए ।
नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष गणेश के.सी.ले कार्यक्रममा प्रमुख प्रशिक्षण सत्रको सञ्चालन गर्नुभएको थियो । उहाँले श्रमिकहरूको अधिकारका बारेमा समकालीन विषयमा जानकारी गराउँदै, “श्रमको सम्मान र संरक्षण गर्न मात्रै सकिन्छ जब श्रमिकहरूको आवाज सशक्त बनाइन्छ र तिनीहरूको अधिकारका लागि निरन्तर संघर्ष जारी राख्न सकिने बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कोषाध्यक्ष नरेश बाबु श्रेष्ठल खर्च २०८० वैशाखदेखि २०८१ आश्विन महिनासम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए । जसमा आम्दानी र खर्च दुवै पक्षमा कुल रकम रु. ३ लाख ५४ हजार २ सय २५ रूपैया रहेको छ । यस प्रतिवेदनको उद्देश्य संगठनको वित्तीय पारदर्शिता र जिम्मेवारिता सुनिश्चित गर्नु रहेको कोषाध्यक्ष श्रेष्ठले बताए ।
उक्त प्रतिवेदनमा आय र खर्चका विभिन्न स्रोत र प्रकारहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
कार्यक्रममा विभिन्न स्थानका श्रमिक प्रतिनिधिहरूको सहभागीता रहेको थियो । उक्त कार्यक्रमले उनीहरूको क्षमता वृद्धिमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ ।