दाङमा हिउँदे खेतीका लागि मलको अभाव नहुने दाबी

दाङ, कात्तिक २१ – दाङ जिल्लामा हिउँदे खेतीका लागि आवश्यक मलको अभाव नहुने जानकारी कृषि सामग्री कम्पनी लिमिटेड घोराहीले दिएको छ । किसानले हिउँदे बालीका लागि आवश्यक पर्ने तोरी, मुसुरो, गहुँ लगायतका बालीका लागि रासायनिक मलको पर्याप्त आपूर्ति रहेको कम्पनीले जानकारी दिएको हो ।

घोराही, लमही र तुलसीपुरमा रहेका कृषि सामग्री कम्पनी लिमिटेडका शाखा कार्यालयहरूमा अहिले मलको पर्याप्त मौज्दात रहेको र यस वर्ष मलको कमी नहुने कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख टोपाराम गौतमले बताए । उनका अनुसार, मलको वितरण सहकारीमार्फत कोटामा आधारित हुनेछ, जसले गर्दा हिउँदे बाली लगाउने किसानहरूलाई मलको सहज आपूर्ति हुनेछ ।

गौतमले भने, “अहिले हामी १० वटै स्थानीय तहमा कोटाका आधारमा मल वितरण गरिरहेका छौं ।उनका अनुसार, घोराही शाखामा युरिया १,४४५.१ मेट्रिक टन, डिएपी ४०१.१५ मेट्रिक टन र पोटास ६३.७७ मेट्रिक टन मौज्दात रहेको छ। तुलसीपुर शाखामा युरिया ३७०.१ मेट्रिक टन, डिएपी ३०५.८५ मेट्रिक टन र पोटास २२.१ मेट्रिक टन उपलब्ध छ। लमही शाखामा भने युरिया १९६.३ मेट्रिक टन, डिएपी १४१.६ मेट्रिक टन र पोटास २९.६५ मेट्रिक टन मौज्दात रहेको जानकारी दिइएको छ ।

त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको गोदाममा ८,८५५ बोरा युरिया, ६,८०० बोरा डिएपी र ८१४ बोरा पोटास उपलब्ध रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका लेखापाल शम्भु शाहले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मिलेर मलको आपूर्ति गरिरहेका छन्, जहाँ कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत आपूर्ति गर्ने व्यवस्था गरिएको छ ।

यसरी, दाङ जिल्लामा हिउँदे खेतीका लागि मलको पर्याप्त आपूर्ति सुनिश्चित गरिएको छ, र किसानहरूले सहकारीमार्फत यस वर्ष मलको आपूर्ति सहज रूपमा प्राप्त गर्नेछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर