लेबनानमा हिजबुल्लाले सञ्चारका लागि प्रयोग गर्ने पेजर विस्फोट हुँदा नौ जनाको ज्यान गयो


एजेन्सी असोज २, लेबनानमा विद्रोही समूह हिजबुल्लाका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते माध्यम पेजर विस्फोट हुँदा एक बालकसहित नौ जनाको ज्यान गएको छ । लेबनानका स्वास्थ्य मन्त्रीले दिएको जानकारीअनुसार बेरुत र अन्य क्षेत्रमा भएका विस्फोटको घटनामा इरानका लागि लेबनानका राजदूतसहित दुई हजार आठ सय जना घाइते भएका छन् ।

इरानले समर्थन गरेको हिजबुल्ला समूहले हिजबुल्लासँग सम्बन्धित सङ्घ संस्थामा आवद्ध कर्मचारीले प्रयोग गरेका पेजरहरू विष्फोट भएको भन्दै एक बालकसहित आफ्ना आठ जना लडाकुको ज्यान गएको दाबी गरेको छ । हिजबुल्लाले यो आपराधिक आक्रमण इजरायलले गरेको आरोप लगाउँदै न्यायपूर्ण बदला लिने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

यस घटनाबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । विस्फोट हुनु केही घण्टा अघि, इजरायलको सुरक्षा क्याबिनेटले देशको उत्तरमा भइरहेका हिजबुल्लाका आक्रमणहरू रोक्ने र विस्थापित नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने लक्ष्य रहेको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले लेबनानमा भएका पछिल्ला घटनाहरूलाई अत्यन्तै चिन्ताजनक रहेको भन्दै आएको छ । गएको वर्ष अक्टोबर ७ मा गाजामा इजरायल र विद्रोही समूह हमासबीच युद्ध शुरू भएयता इजरायल–लेबनान सीमामा दैनिक रुपमा झडप हुँदै आएको छ । हिजबुल्लाले हमास समर्थित प्यालेस्टिनी समूहको समर्थन गरिरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर