यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने अनुमान

कोहलपुर असोज १, बाँके जिल्लामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने आशा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत, बाँकेमा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ। यस परियोजनाले तीन वर्षदेखि बाँकेमा धान जोन परियोजना लागू गरी धान खेतीलाई प्रवर्धन गर्दै आएको छ।

यस वर्ष, जानकी, खजुरा, र बैजानाथ गाउँपालिकाका ११ वटा वडामा धान खेतीमा सिँचाइ, कृषि यान्त्रीकरण, बीउबिजन र प्राविधिक सहयोग प्रदान गरिएको छ। परियोजनाले २,३४१ हेक्टर क्षेत्रफलमा धान खेती प्रवर्धन गर्ने कार्यक्रम लागू गरेको छ। यसअन्तर्गत, ८१४ जना कृषक तथा समूह र सहकारीहरू योजनामा संलग्न छन्।

आगामी आर्थिक वर्षमा, धानको उत्पादन १ लाख क्विन्टल हुने र तरकारी जोनमा ५०० हेक्टर क्षेत्रफलमा सहयोग पुर्याइने योजना बनाइएको छ। यो योजना अन्तर्गत १ करोड २९ लाख रुपियाँ धान खेती र ५० लाख रुपियाँ तरकारी खेती प्रवर्धनका लागि बजेट छुटाइएको छ।

यो परियोजना साना सिँचाइ, धानको चक्लाबन्दी, कष्टम हायरिङ सेन्टर स्थापना, धानको बीज वृद्धि, कृषि यान्त्रीकरणमा सहयोग, पोस्ट हार्वेस्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण, मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रम र तरकारी क्षेत्र विस्तारजस्ता विभिन्न कार्यक्रमहरूसँग सम्बन्धित छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर