मोहम्मद डे नेपालगन्जका मुस्लिम समुदायले मनाए भव्य उत्सव


कोहलपुर भदौ ३१ — इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९९ औं जन्मोत्सव नेपालगन्ज लगायत बाँके जिल्लामा भव्य समारोहका साथ मनाईरहेका छन् । सोमबार बिहान ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीहरूको सहभागिता रहेको एक शुभजन्मोत्सव जुलुसले नगर परिक्रमा गरेको छ।

भव्य जुलुस र नगर सजावट
जुलुसमा हजारौं मुस्लिम धर्मावलम्बीहरूले विभिन्न नाराका प्लेकार्ड र ब्यानर लिएर सहभागी भएका थिए। सयौं गाडी, ब्याट्री रिक्सा, ट्याक्टर र मोटरसाइकलहरूले जुलुसलाई अझ प्रभावशाली बनाएका थिए । नगरभरि मिठाई, फलफूल, पानी, जुस, चिया र अन्य खानेकुरा वितरण गरिएको थियो ।

नेपालगन्ज नगरलाई दुलही झैं सजाइएको छ । ध्वजा, पताका, लाइट र झण्डाले सहरलाई रंगीला बनाइएको छ । आइतवार रातभरि विभिन्न मस्जिद र मदरसामा धार्मिक प्रार्थना गरिएका थिए, र रातभर विभिन्न स्थानमा छुट्टाछुट्टै जुलुसहरू निकालिएका थिए ।


जुलुसमा पूर्व मन्त्री मोहम्मद इश्तियाक राई, अब्दुल खान, संविधानसभाका सदस्य अब्दुल हमीद सिद्दिकी, प्रतिनिधिसभा र प्रदेशसभाका पूर्व र वर्तमान सदस्यहरू, नेपालगन्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, मुस्लिम धर्मगुरुहरू र अन्य प्रमुख व्यक्तिहरूको सहभागिता रहेको थियो ।

जुलुसले नेपालगन्जका सबै मुख्य भागको परिक्रमा गरेपछि करिब ६ घण्टाको हिँडाइपछि स्थानीय गौसिया मदरसामा समापन हुनेछ। समापन समारोहमा मुस्लिम अगुवा र धर्मगुरुहरूले हजरत मोहम्मदको सन्देश र जीवनी बारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


मोहम्मद डे को अवसरमा सार्वजनिक बिदा माग गरिएपनि नेपाल सरकारले मुस्लिम समुदायलाई मात्रै बिदा दिएकोमा असन्तुष्टि व्यक्त गरिएको छ। मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले सरकारले सम्पूर्ण देशभर सार्वजनिक बिदा दिनुपर्ने माग गरेको भए तापनि, नेपालगन्ज उपमहानगरले पहिलो पटक सार्वजनिक बिदा दिएकोमा आभार व्यक्त गरेका छन् ।

यसैगरी, बाँकेको नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले पनि मोहम्मद डे का अवसरमा सार्वजनिक बिदा दिएको छ, जसको लागि स्थानीय मुस्लिम समुदायले आभार व्यक्त गरेका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर