महत्त्वपूर्ण योजना अघि बढाऔँ : मुख्यमन्त्री आचार्य


दाङ भदौ ३१- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि तथ्य र प्रमाणमा आधारित महत्त्वपूर्ण योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिनु भएको छ ।

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकाङ्क्षा पूरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिनुभयो ।

‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौँ’ उहाँले भन्नुभयो, ‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरूको भूमिका प्रदेशले चाहेको छ ।’ प्रदेशको भाग्य भविष्य रच्ने जिम्मेवारी योजना आयोगको रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन आग्रह गर्नुभयो ।

उपाध्यक्ष र सदस्यको शपथ

नव नियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा। डिल्लीराज अर्याल र सदस्यहरू डा। सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकालले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा उहाँहरूले सोमवार शपथ लिनु भएको हो ।

मुख्यमन्त्री आचार्यले उपाध्यक्ष डा। डिल्लीराज अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । उपाध्यक्ष अर्यालले सदस्य डा। सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथ ग्रहण गराउनुभयो ।

प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यले आफ्नो कार्यभार सम्हाल्नुअघि अनुसूची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्षसमक्ष र सदस्यहरूले उपाध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर