चाडपर्वको चहलपहल सिमा पारी,नेपालगन्ज-कोहलपुर बजार सुख्खा


कोहलपुर भदौ २१– हरेक वर्ष झैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै सीमापारि रुपैडिहा बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

महान् चाड दसैँतिहार नजिकिँदै गरेका बेला अहिले परेको महिलाको महान् पर्व हरितालिका तिजमा पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएको छैन तर खरिदारीका लागि सीमापारि जानेको भिड नाकामा अत्यधिक देखिन्छ ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा धेरै पटक बैठकको आयोजना, सचेतना अभियान तथा हेल्प डेस्क नै स्थापना गरे पनि खरिदारीका लागि सीमापारि जाने नेपालीको सङ्ख्या रोकिएको छैन ।

तिजका बेला अहिले रुपैडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । त्यहाँ जताततै नेपाली उपभोक्ता देख्न सकिन्छ ।

रुपैडिहाका व्यवसायी रमेश अग्रवालले अहिले ठुलो सङ्ख्यामा नेपाली उपभोक्ता सामान खरिद गर्न आइरहेकाले एक मिनेट पनि फुर्सद नपाएको जनाउँदै अन्य दिनको तुलनामा अहिले तेब्बरभन्दा बढी बिक्री भइरहेको बताउनुभयो ।

उहाँले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बाँसगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतसम्मबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ता यहाँ आइरहेको बताउनुभयो ।

रुपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले अहिले त्यहाँ दैनिक पाँच करोडभन्दा बढीको कारोबार भइरहेको अनुमान गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले ठुलो परिमाणमा सीमापारिबाट सामान खरिद गरेर नेपाल भित्र्याउँदा दैनिक दुई करोड जति राजस्व नोक्सानी भइरहेको बताउनुभयो ।

उहाँले सङ्घले सो रोक्न पटक पटक दबाब सिर्जना गरे पनि रोक्न नसकिएको बताउँदै यसबाट एकातिर देशको राजस्वमा कमी आएको छ भने अर्कातिर नेपालगन्जको व्यापार व्यवसाय सुकेको बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर