पाँच वर्षसम्म पनि सडक अलपत्र, स्थानिय सरकार मौन


दाङ भदौ २१- निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण गढवा–कालाकाटे हुलाकी सडक अलपत्र परेको छ । दाङको देउखुरीमा रहेको गढवा–कालाकाटे हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक तीन वर्षभित्र निर्माण गर्ने गरी २०७६ कात्तिक २९ गते ६५ करोडभन्दा बढीमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७९ कात्तिक मसान्तसम्म सकिनुपर्ने भए पनि दुई पटक म्याद थप हुँदा पनि आधा काम हुन सकेको छैन । आफ्नो कामप्रति निर्माण व्यवसायी जिम्मेवार नहुँदा पटक पटक ताकिता गर्दा पनि हुलाकी सडक निर्माणको आधा पनि काम हुन नसकेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । हुलाकी सडकको २० किलोमिटर सडकमध्ये करिब पाँच किलोमिटर मात्र कालोपत्रे गरिएको छ । बाँकी सडकखण्डमा नाला निर्माण, ग्राभेल गर्ने, कतै ग्राभेल गर्नका लागि गिट्टी थुपार्ने काम गरिएको छ । जसले गर्दा सडकमा खाल्टाखुल्टीसँगै पानी जम्ने भएका कारण यातायातका साधन सञ्चालनदेखि स्थानीयलाई हिँडडुल गर्न समस्या हुने गरेको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार काम नगरेपछि ठेक्का तोड्न प्रक्रिया अघि बढाउँदा कानुनी जटिलता भएको र निर्माण व्यवसायी अदालत जाँदा सडक निर्माणको काम झनै पछि धकेलिने भएका कारण तोड्न सकिएको छैन ।

आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “निर्माण व्यवसायी अदालत जाँदा सडक निर्माणको काम थप पछि धकेलिने देखियो । त्यसैले गर्दा तत्काल ठेक्का तोड्नेभन्दा कामलाई कसरी अघि बढाउन सकिन्छ भनेर लागेका छौँ ।” भण्डारीका अनुसार अहिले निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा छैनन् ।

सडक निर्माणको कामलाई जति सक्यो चाँडै अघि बढाउन निर्माण कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । कार्यालयका अनुसार पछिल्लो पटक थपिएको म्याद २०८२ असार १३ गतेसम्म रहेको छ ।

ठेक्का सम्झौता अनुसार निर्माणको काम नभएपछि पहिलो पटक २०८० साउन १० सम्मलाई म्याद थप गरिएको थियो । त्यसमा पनि काम नभएपछि २०८२ असार १३ गतेसम्मलाई म्याद थप भए पनि अझै काम हुन सकेको छैन । निर्माण कम्पनीले केही समय काम गरे जस्तो गरे पनि पुनः कामलाई अलपत्र पार्ने काम गरेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

निर्माण व्यवसायीले पटक पटक ताकिता गर्दा पनि काम नगरेपछि बाध्य भएर ठेक्का तोड्न निर्माण कम्पनीको बैङ्क ग्यारेन्टी जफत गर्न प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो । आयोजना प्रमुख भण्डारीका अनुसार मोबिलाइजेसन पेस्की तान्न २०८१ जेठ २८ गते नबिल बैङ्क दरबारमार्गलाई सात करोड ८५ लाख पेस्की फिर्ता गर्न पत्र काटेकोसमेत बताउनुभयो । हुलाकी सडक अन्तर्गत सँगै ठेक्का लागेको गढवादेखि राजपुरसम्मको करिब २१ किलोमिटर सडकखण्ड भने सम्झौता मितिमै सकिएको थियो । उक्त सडक २०७६ मङ्सिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कन्काई खड्का कृष्ण जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर