अस्पतालको सिटी स्क्यान बिग्रियो ः सेवा बन्द


दाङ भदौ १९ : दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । स्वास्थ्य मन्त्रालय प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको सिटी स्क्यान गर्ने मेसिन बिग्रिएपछि पाँच महिनादेखि सेवा बन्द भएको हो । राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा गम्भीर नसासम्बन्धी बिरामी तथा दुर्घटनाका घाइतेलाई उपचारका लागि अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता छ । राप्ती प्रादेशिक अस्पताल प्रशासन शाखाका प्रमुख रेश्मीराज अधिकारीका अनुसार प्रदेश आपूर्ति केन्द्र बुटवलको आर्थिक सहयोगमा करिब चार वर्षअघि सिटी स्क्यान मेसिन जडान भएको थियो ।

करिब तीन करोड ८० लाख रुपियाँ मूल्यको उक्त मेसिन बिग्रिएको पाँच महिना हुँदा पनि मर्मत गरिएको छैन । मेसिन बिग्रिएलगत्तै अस्पताल प्रशासनले मेसिन सप्लाई गर्ने कम्पनीलाई जानकारी गराएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले प्राविधिक पठाएर मर्मतका लागि स्टिमेट पनि तयार ग¥यो । सबै मर्मत गरी सञ्चालनमा ल्याउन एक करोड १५ लाख रुपियाँ लाग्ने भएकाले मर्मत गर्न सकेका छैनौँ ।” अस्पतालले यस विषयमा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गरे पनि अहिलेसम्म प्रदेश स्वास्थ्य मन्त्रालयबाट कुनै जवाफ नआएको उहाँले बताउनुभयो । प्रादेशिक अस्पतालले सिटी स्क्यान सेवा दिँदा दैनिक करिब छरसात जनासम्म सेवा लिन आउने गरेको भन्दै प्रशासन प्रमुख अधिकारीले बिग्रिएपछि बिरामीलाई समस्या भएको बताउनुभयो । अस्पतालले सिटी स्क्यान सेवा दिएबापत एक जना बिरामीबाट तीन हजार पाँच सय रुपियाँदेखि सात हजार रुपियाँसम्म लिने गरेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर