भारतमा भएको सवारी दुर्घटनामा बाँकेका तीन जनाको ज्यान गयो


कोहलपुर बाँके असार २७ नरैनापुर गाउँपालिकासँग सीमा जोडिएको भारतको राजपुर मोडमा भएको सवारी दुर्घटनामा परेर बाँकेका तीन नेपाली नागरिकको मृत्यु भएको छ । मंगलबार राति भएको सवारी दुर्घटनामा परेर राप्ती सोनारी गाउँपालिका–१ बनुवा नाकाबस्तीका तीन जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय रामबहादुर देसौटी र २८ वर्षीया कल्पना श्रेष्ठ रहेको नाका बस्तीका अगुवा प्रकाश नेपालीले मिसन टुडेलाई जानकारी दिए । घर्तीको घटनास्थलमै र गम्भीर घाइते अन्य दुई जनाको श्रावस्ती जिल्ला अस्पताल भिन्गामा मृत्यु भएको थियो ।

भारतको राजपुर मोडमा रा४प ७६५ नम्बरको मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । मृतक तीनै जना राप्ती सोनारी गाउँपालिका–१ भवानियापुरबाट नरैनापुर नाका हुँदै भारतको बाटो भएर मोटरसाइकलमा जाँदै थिए ।

उनीहरूको भवानियापुर र बनुवा नाका दुवै स्थानमा घर भएको बताइएको छ । ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा आगलागी भएको थियो । दुर्घटनाबारे भारतीय प्रहरीले जानकारी पठाउँदै मृतकका आफन्तलाई खबर गरिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिए ।

राजपुरस्थित भारतीय प्रहरीले नेपाली प्रहरीलाई सो दुर्घटनाबारे जानकारी गराएपछि मृतकका आफन्तलाई खबर गर्न लगाइएको उनले बताए । मृतक नेपालीहरूको शवलाई भिन्गा जिल्ला अस्पतालमा राखिएको भारतीय प्रहरीले जनाएको छ । नेपालबाटै बनुवा नाका जानका लागि सडक भए पनि वर्षाले अवरुद्ध पारेकाले उनीहरू भारतको बाटो प्रयोग गरेर जाँदै गरेको स्थानीयले बताएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर