भारतीय भन्सारको चार घण्टा अवरोधपछि बुधबार नेपालगन्ज आइपुगे ‘मुर्रा’ राँगा


,
नेपालगन्ज मंसिर ७,। रुपैडियास्थित भारतीय भन्सारको चार घण्टा अवरोधपछि बिहीबार अबेर साँझ मात्रै १५ वटा मुर्रा राँगा जमुनाहस्थित पशु क्वारेन्टाइनको पशु यार्डमा ल्याइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उपहारस्वरूप पशु प्रजननका लागि पठाएका उन्नत जातका १५ वटा ‘मुर्रा’ राँगा नेपाल भित्र्याउन रुपैडियास्थित भारतीय भन्सारले अनेक कागजात माग्दै अवरोध सिर्जना गरेको थियो ।

विभिन्न कागजात माग्दै भन्सार क्लियरेन्स गर्न नमानेपछि बिहीबार दिनभर राँगा रुपैडियामै अल्झनुपरेको थियो । हरियाणाबाट बुधबार दुईवटा ट्रकमा लोड गरेर पठाइएका राँगा भारतीय भन्सारमा बिहीबार दिउँसो ३ बजे ल्याइएको थियो । तर भारतीय अधिकारीहरूले अनेक कागजात खोजेपछि साँझ ७ बजे मात्रै राँगा नेपालगन्ज ल्याउन सकिएको नेपाली अधिकारीहरूले बताए । कागजात हुँदाहुँदै उपहारका राँगा निकासीमा पनि भारतीय पक्षले गरेको अवरोधप्रति कर्मचारीले गुनासो गरे ।

राँगा ल्याएर आएका भारतीय पशुचिकित्सकले नेपाल र भारतका प्रधानमन्त्रीस्तरको सहमतिपछि नेपाललाई राँगा पठाइएको व्यहोरासहितको पत्र देखाए पनि भारतीय भन्सारका अधिकारीहरूले मानेनन् । उनीहरूले सुरुमा त रुपैडिया नाकाबाट ‘मुर्रा’ जातको राँगा निकासी नै गर्न नमिल्नेसम्म बताएका थिए । तर सबै कागजात देखाएपछि मात्रै अन्य प्रक्रिया सुरु गर्न उनीहरू सहमत भएका थिए ।

राँगा दुई दिनदेखि भोकभोकै रहेका छन् । ट्रकमा माटो बिछ्याइएको र सोही कारणले दिएको घाँससमेत नखाएको चालकहरू बताउँछन् ।
दिउँसो १ बजे रुपैडिया नाका हुँदै नेपाल ल्याइने भने पनि साँझ मात्रै ल्याउन सकिएको पशु क्वारेनटाइन कार्यालय नेपालन्जका प्रमुख विनयकुमार कर्णले बताए ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

राँगा लिनका लागि पशुसेवा विभाग, पशु क्वारेन्टाइन र केन्द्रीय पशु प्रयोगशालाका अधिकारीहरू नेपालगन्ज भन्सार कार्यालय पुगेका थिए ।
बुधबार नेपाल भित्रिने राँगाहरू ३ वटा नेपालगन्ज, ५ वटा लाहान र ७ वटा पोखरामा रहेको ब्रिडिङ केन्द्रमा लगिने विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले बताए । यसले नेपालको दूध उत्पादन क्षमता तथा भैँसीको नश्लमा सुधार ल्याउनेछ ।

भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैँसीको जात विश्वमै उन्नतमध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई आनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादनका लागि सबैभन्दा राम्रो मानिन्छ ।

दक्षिण भारतीय हावापानीमा यो जातको भैँसीले एक बेत ९३ सय दिन० मा ५ हजार लिटरसम्म दूध दिन्छ । यस्तो भैँसीको जातका कारण भारतले दुग्ध उत्पादनमा तीन गुणा वृद्धि गरेसँगै संसारभर भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको छ ।

अहिले नेपाल, चीन, ब्राजिल कोलम्बियालगायतका देशका हावापानीमा यो जातको राँगाबाट उन्नत नश्ल सुधारमार्फत दूध उत्पादन बढ्ने देखिएपछि भारतसँग यो नश्लको राँगो र वीर्य माग गर्ने देशको संख्या बढ्दो छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर