बाँकेमा ऐतिहासिक मेलाहरूको तयारी सुरु


कोहलपुर बाँके मंसिर ६ । राप्ती सोनारी र जानकी गाउँपालिकाका ग्रामीण क्षेत्रमा लाग्ने परम्परागत ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । राप्ती सोनारी–२ टिकुलीपुरमा प्रत्येक वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष टिकुलीपुरमा मंसिर १० गतेदेखि डिग्रे मेला सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिए ।

मेलामा विद्यालयस्तरीय नृत्य, खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिएको छ । युवालाई खेलकुदमार्फत जोड्नका लागि भलिबल, ब्याडमिन्टनजस्ता खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष केसीले बताए । तीन दिनसम्म चल्ने डिग्रे मेलामा बाँके, बर्दिया, दाङलगायतका जिल्लाबाट हजारौं मानिस मेला भर्न आउँछन् ।

यस्तै कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । यसवर्ष मंसिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

‘यो वर्ष पनि विगतका वर्षमा जस्तै भव्यरूपमा मेला सञ्चालन गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘बाँके जिल्लाकै ऐतिहासिक मेला भएकाले यसको व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक तयारीको कार्यमा सबै जुटेका छौँ ।’

मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले दाबी गरे । गुरुवा गाउँ मेलामा हुने भेडा जुधाई प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको स्थानीय रमेश बर्माले जानकारी दिए ।

पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर