धुमधाम साथ मनाइँदै छठ आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइदैं


कोहलपुर बाँके मंसिर ३ ।
सूर्यको उपासना गरी मनाइने छठ पर्व तराईका जिल्लाहरूमा धुमधाम साथ मनाइँदै छ । बिहीबारबाट सुरु भएको यो पर्व यसपालि सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिनेछ । पर्व सुरू भएको मानिने कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले पवित्र स्नान गरी व्रतको प्रारम्भ गर्ने चलन छ ।

विशेषगरी मिथिला क्षेत्रमा उल्लासपूर्वक मनाइने यो पर्व तराईका अन्य जिल्लाहरूमा समेत मनाउने गरिन्छ । यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा हाल्ने र मीठो–मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेसमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरूमा देशैभरि मनाउन थालिएको हो । छठ मनाउन यतिबेला तराईका गाउँसहरमा रहेका पोखरी, नदी, तलाउजस्ता जलाशयको सरसफाइ गरेर सिँगारिएका छन् ।

छठको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी सात्विक भोजन गरी व्रत बस्ने परम्परा छ । यो पर्व नेहाय खाय ९नुहाएर खाने० विधिबाट सुरु हुन्छ । त्यसको भोलिपल्ट खरना ९खिर खाने० र पर्सिपल्ट आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिई विधिवत् रूपमा सम्पन्न हुनेछ ।

ब्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाई सूर्यलाई देखाइन्छ ।

छठी माईको श्रद्धापूर्वक पूजाआजा गरी मनाइने यस पर्वमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हात्ती, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुनेलगायतका सामग्रीको किनबेच हुनेगर्छ ।

पर्वमा महिला र पुरुष जसले व्रत गरे पनि हुने शास्त्रीय मत भए पनि धेरैजसो घरका मुख्य महिलाले नै व्रत संकल्प गर्ने गरेको पाइन्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर