भुकम्पका घाइते २ जना भेरी अस्पतालबाट डिस्चार्ज


कोहलपुर बाँके मंसिर २ । जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामी निको भएर डिस्चार्ज हुनेक्रम बढेको छ। भूकम्पमा घाइते भएर भेरीमा उपचार गराइरहेका थप दुई जना बिरामी शुक्रबार डिस्चार्ज भएका छन्।

बारेकोट गाउँपालिका९५ जाजरकोटका ६३ वर्षीय गोपाल दमाई र जाजरकोटकै भेरी नगरपालिका ५ का ६४ वर्षीय टिकाराम राना उपचारपश्चात् निको भई शुक्रबार डिस्चार्ज हुनुभएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार दमाईलाई उपचारका लागि कार्तिक २९ गते र रानालाई कार्तिक १८ गते भेरी अस्पतालमा ल्याइएको थियो। योसँगै भेरी अस्पतालमा उपचार गराई निको भएर डिस्चार्ज हुने भूकम्पका घाइते बिरामीको सङ्ख्या ५० पुगेको छ।

उक्त भूकम्पमा परी घाइते भएका विभिन्न जिल्लाका ६० जना बिरामीलाई उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये हालसम्म ५० जना बिरामी निको भएर डिस्चार्ज हुनुभएको हो।

अस्पतालमा उपचार गराउन ल्याइएकामध्ये एक जनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको र तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ। अब भेरी अस्पतालको अर्थोपेडिक वार्डमा ६ जना बिरामीको उपचार भइरहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर