भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको मृत्यु


कोहलपुर बाँके मंसिर २ । जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको मृत्यु भएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको मृत्यु भएको हो ।

घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार मृत्यु भएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी थिए । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको मृत्यु भएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए ।

भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धि समस्या पनि देखिन थालेको छ । ओढ्ने कपडा सबै घरमा पुरिएर काम नलाग्ने भएको र नयाँ किन्न र जोहो गर्न नसकेको बारेकोटका निमबहादुर नेपालीले गुनासो गरे ।

भूकम्प पीडितलाई तत्कालै पालरटेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा, खाद्यान्न र अस्थायी भए पनि बसोबासको व्यवस्थापन महत्त्वपूर्ण भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताएका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार चिसो बढ्न थालेसँगै पीडितमा स्वास्थ्य समस्या देखिने जोखिम भएकाले आवश्यक तयारीको काम थालिएको छ । उनका अनुसार यो महिनाभित्र अस्थायी आवास बनाएर पीडितको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर