तिहारमा सशस्त्र प्रहरीको कुकुर पूजा


कोहलपुर कार्तिक २६, नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ । नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ । हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ । कुकुरलाई फूल, माला र टीका लगाइदिएर खानेकुराहरु दिइ पूजा गर्ने परम्परा रही आएको छ ।

सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य तथा डग हेण्डर उपशाखाका सशस्त्र प्रहरी नायब निरीक्षक रमेश उप्रेतीले सशस्त्र प्रहरी बलसँग चार जातका कुकुरहरु रहेको र जसमा जर्मन सेफर्ड, ल्याब्रेडर, ककर स्पाइनर र गोल्डे डिटिबर रहेको बताउनु भयो । कुकुरहरुलाई लागुऔषध, हातहतियार तथा बिस्फोटक पदार्थको खोजी कार्य र अपराध अनुसन्धानमा तालिम दिइ काम गराइएको बताउनु भयो । कुकुरहरुले बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने गरेको बताउनु भयो ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने काम गर्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।

त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराइ पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर