भारतीय सेनाको जहाज भूकम्प पीडितलाई राहत बोकेर नेपालगन्जमा


कोहलपुर बाँके कार्तिक २० ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितहरूका लागि राहत सामग्री बोकेर भारतीय सेनाको जहाज नेपालगन्ज विमानस्थलमा आएको
छ । आइतबार भूकम्प प्रभावितका लागि राहत सामग्री बोकेर भारतीय सेनाको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।
भारतको बनारसबाट राहत सामान बोकेर आएको जहाज सिधै नेपालगन्ज विमानस्थलमा अवतरण गरेको हो ।

भारतीय सेनाको जहाजले ल्याएको राहत सामग्री विमानस्थलमा नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा भूकम्पप्रभावितका लागि ११ टनभन्दा बढी सामान जहाजमार्फत आइतबार आएको भन्दै राजदूत श्रीवास्तवले अन्य राहत सामग्री क्रमशः आउने जानकारी दिए ।

भारतले भूकम्पप्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँबराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको हो । जहाजले भारतबाट ल्याएका राहत सामानहरूमा टेन्ट, स्लिपिङ ब्याग, कम्बल, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

सहयोग बुझ्दै रक्षामन्त्री खड्काले पुननिर्माणको चरणमा पनि भारतलाई सहयोग गर्न आग्रह गरे । उनले भारतबाट आएको सामानलाई तत्काल जाजरकोट र रुकुम पश्चिममा पठाउन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलाई निर्देशन दिएका थिए ।

राहत लिएर आएको भारतीय सेनाको जहाज आइतबार नै भारत फर्किएको नेपालगन्ज विमानस्थलले जनाएको छ । आज सोमबार समेत भारतीय सेनाको जहाज थप राहत सामग्री लिएर नेपालगन्ज विमानस्थलमा आउने बताइएको छ । भारतले दिएका सामान आज बिहानै जाजरकोट र रुकुम पश्चिममा पठाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर