तिहारमा प्लास्टिक फुलका माला प्रयोगमा प्रतिबन्ध


दाङ कार्तिक १४
जिल्लाका दुई पालिकाले आउँदै गरेको नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा प्लास्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरू प्रयोग गर्न तथा प्लास्टिकजन्य नक्कली फूलका मालाहरू प्रयोग नगर्न आग्रह गरेका हुन् ।

१० पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो । उसले प्लास्टिकजन्य नक्कली फूलका माला बिक्रीवितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लास्टिकजन्य माला प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका माला मात्रै भाइटीकामा प्रयोग गर्न आग्रह गरेको हो । यो निर्णयसँगै जिल्लामा व्यावसायिक फूलखेती गर्दै आएका किसानहरू हौसिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१७ मा १६ बिघा क्षेत्रफलमा फूलखेती गरेका ६० वर्षीय हेमराज शर्माले आफूजस्ता कृषकहरू तुलसीपुर र घोराहीको निर्णयले उत्साहित बनेको जानकारी दिए ।

‘यस्तै निर्णय जिल्लाका सबै पालिकाहरूले गर्नुपर्ने हो,’ उनले भने, ‘सरकारले पनि नाकाबाट यस्ता सामग्री भित्रिन प्रतिबन्ध लगाउन सक्नुपर्छ ।’ जिल्लामा सबैभन्दा बढी क्षेत्रफलमा शर्मासहित पाँच जना मिलेर फूलखेती गरेका छन् ।

घोराही उपमहानगरपालिका–१४ मा लोकेन्द्र रोकामगरले पनि ९ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन् । उनीहरूले बाह्रै महिना फूल तथा माला उत्पादन तथा बिक्री गर्दै आएका छन् । पछिल्लो समय दाङ फूलखेतीमा आत्मनिर्भर हुँदै गएको बताइन्छ । तुलसीपुर, घोराही क्षेत्रमा अध्यनरत विद्यार्थीसमेत सयपत्री फूलको व्यावसायिक खेतीमा जोडिएका छन् ।

कृषि ज्ञान केन्द्र दाङकी कृषि अधिकृत देवा महराले हाल जिल्लामा कार्यालयको रेकर्डमा रहेकोमध्ये २४ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको बताइन् । यीबाहेक विभिन्न संघसंस्था र व्यक्तिहरूले समेत जिल्लाका विभिन्न स्थानमा तिहारलाई लक्षित गरी फूलखेती गरेको भए पनि त्यो कार्यालयको रेकर्डमा नरहेको उनले जानकारी दिइन् ।

पछिल्लो समय जिल्लाका किसानहरूको फूलखेतीमा आकर्षण बढ्दै गएको र त्यसले गर्दा दाङ फूल तथा मालामा आत्मनिर्भर बनेको उनले जानकारी दिइन । झन्डै पौने आठ लाख जनसंख्या रहेको यो जिल्ला लुम्बिनी प्रदेशको राजधानी पनि हो ।

नेता तथा मन्त्रीहरूको आवतजावत बाक्लिन थालेपछि त्यस्ता कार्यक्रमहरूमा स्वागत सम्मानका लागि फूलकै माला प्रयोग हुने हुँदा पनि व्यावसायिक फूलखेती गर्ने किसान उत्साहित बन्न थालेका हुन् ।

जिल्लाका ग्रामिण भेगहरूमा भने घर घरमै सजावटका लागि सयपत्रीलगायत विभिन्न फूलहरू रोपिएका हुन्छन् । गाउँघर आफैँ फूल र मालामा आत्मनिर्भर रहेको तथा बजार क्षेत्रको आवश्यकता पछिल्लो समय भइरहेका व्यावसायिक फूलखेतीले सहजै पूरा गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर