दसैँ पछि कोहलपुरमा चहलपहल बढ्यो


कोहलपुर बाँके कार्तिक १४–

दसैँ सकिएलगत्तै स्वदेश तथा विदेशबाट दसैँ मनाउन गाउँ गएकाहरू धमाधम आ–आफ्ना कार्यस्थलतिर फर्किन थालेका छन् । मानिसहरू गाउँबाट कार्यस्थल फर्किन थालेपछि सहरतिर मानिसहरूको चहलपहल बढ्न थालेको छ । केही दिनअघिसम्म सुनसान देखिएको कोहलपुर बजारमा पनि पुनः चहलपहल बढ्न थालेको छ । दसैँपछि पुनः सहर तथा छिमेकी मुलुक भारततिर फर्किनेहरूको आवागमन बढेपछि कोहलपुरमा चहलपहल बढेको हो ।


कोहलपुर ट्रान्जिट प्वाइन्ट भएकाले पनि आवतजावत गर्नेहरूको यहाँ बाक्लो भीड देख्न सकिन्छ । दसैँअघि कोहलपुरमा गाउँ जानेहरूको भीड देखिन्थ्यो भने अहिले सहर फर्किनेको भीड बढेको हो । अबका केही दिन ग्रामीण तथा पहाडी क्षेत्रबाट विभिन्न स्थानमा पुग्नका लागि झरेका मानिसको ताँती कोहलपुरमा देख्न सकिनेछ ।


मानिसहरूको आवागमन बढेसँगै बसपार्कमा सवारी साधनहरूको चाप पनि बढ्न थालेको बागेश्वरी यातायत प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले बताए । विशेषगरी यस क्षेत्रका कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका जिल्लाहरूबाट सर्वसाधारण कोहलपुर आउने क्रम केही दिनदेखि बढेको अध्यक्ष आचार्यले बताए ।


यस्तै दसैँका कारण बन्द रहेका कोहलपुर र आसपास क्षेत्रका पसलहरू पनि क्रमशः खुल्न थालेका छन् । ठूला व्यापारिक प्रतिष्ठान तथा लत्ताकपडा, कस्मेटिक, भाडा पसल खासै नखुले पनि दैनिक उपभोग्य वस्तुका पसल, चिया तथा तरकारी र फलफूलका पसलहरू केही दिन पहिलेदेखि खुलेका छन् ।


बजार खुलेपछि सर्वसाधारण दैनिक उपभोग्य सामानको बिक्रीवितरण केही बढेको व्यवसायी सुमित्रा अर्यालले बताइन् । सर्वसाधारणको चहलपहल बढेपछि व्यवसाय बढेको उनको भनाइ छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर