नेपालगञ्जमा शिशु फोटो प्रतियोगिता हुदै

कोहलपुर बाँके कार्तिक १२- तिहारको अवसर पारेर नेपालगञ्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ । नेपालगञ्जमा जैविक कपडा ९कोक्रोमा०को उत्पादनहरु विक्रीवितरण गर्दै आएको नाना चाचाले तिहारको अवसर पारेर नेपाली संस्कृति र परम्परा जोगाउने उद्देश्यले ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन गर्न लागेको सञ्चालक नीता जिसीले बताइन् ।

पछिल्लो समयमा नयाँ पुस्ताले विदेशी संस्कृति तथा परम्परा अत्यधिक मात्रामा पछ्याउँदै जाँदा नेपाली पहिरन, पोशाक, कला, संस्कृति, भेषभूषा तथा परम्परा बिर्सदै जान थालेकाले सानै उमेरका बालबालिकाहरुबाट नै नेपाली पोशाकको संरक्षण गर्ने उद्देश्यले शिशु फोटो प्रतियोगिता आयोजना गरिएको सञ्चालक जिसीले बताइन् ।

“दशैं तिहारको छुट्टीको अवसरमा बालबालिका पनि आफ्ना अभिभावकसँगै हुन्छन्, उनीहरुलाई सानैबाट नेपाली पोशाक र पहिरनका बारेमा जानकारी पनि दिनुपर्छ, सिकाउनुपर्छ, आफ्नो कला संस्कृति जोगाउनुपर्छ भन्ने सानैबाट उनीहरुले जान्नुपर्दछ ।,” सञ्चालक जिसीले भनिन्, “छुट्टीको अवसरमा अतिरिक्त क्रियाकलाप गर्दा बालबालिकाहरु पनि खुसी हुने र आफ्नो भेषभूषा पहिरनका बारेमा पनि बुझ्ने अवसर पाउनुका साथै प्रोत्साहित पनि हुने हुँदा हामीले प्रतियोगिताको आयोजना गरेका हौं ।”

सबै अभिभावकहरुले आफ्ना साना बालबालिकाहरुलाई अनिवार्य रुपमा नेपाली कला, संस्कृति, संस्कार, भेषभूषा, रीतिरिवाज पहिरन तथा पोशाक लगायत परम्परागत चालचलनका बारेमा जानकारी दिनुपर्ने र सिकाउनुपर्ने जिसीले बताइन् ।

प्रतियोगितामा एकदेखि पाँच वर्षसम्मका बालक तथा बालिकाले भाग लिन पाउने उनले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा भाग लिने बालबालिकाले अनिवार्य रुपमा नेपाली परम्परागत पोशाकको पहिरन लगाउनुपर्नेछ साथै कार्तिक १२ गतेदेखि ३० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । आवेदन निःशुल्क रुपमा दिनसकिने उनले जानकारी दिइन् ।

प्रतियोगितामा सहभागि बालबालिकाबाट २० जनालाई छनोट गरी विभिन्न विधामा विजेता घोषणा गरी आकर्षक पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने सञ्चालक जिसीले जानकारी दिइन् । नाना चाचाले बालबालिकाका लागि कपासद्वारा सफ कारिगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमबाट उत्पादन गरिएका नेपाली कपडा ब्रान्ड कोक्रोमाबाट उत्पादित कपडाको नेपालगञ्जबाट उत्पादन र बजारीकरण गर्दै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर