दसैँ सकिएसँगै किसानलाई धान काट्ने चटारो
कोहलपुर बाँके कार्तिक १२
नेपालीको महान् पर्व दसैँ सकिएसँगै देशैभरका किसान यतिबेला धान काट्ने काममा व्यस्त हुन थालेका छन् । कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धानसमेत नकाटी दसैँ मानेर थन्क्याउने भन्दै थाती राखेका थिए ।
खेतमा पाकेको धान काट्दै गरेका र काट्ने तयारीमा रहेका धेरै किसानलाई अहिले कतै पानी परेर वर्ष दिनभरि खाने बाली बिगार्ने त होइन भन्ने चिन्तासमेत छ । तर, मौसमविद्हरूले भने अबका केही दिन पानी पर्ने सम्भावना नरहेकाले ढुक्कले धान काट्न किसानलाई सुझाव दिएका
छन् ।
‘अबका केही दिन पानी पर्ने सम्भावना छैन,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले भने, ‘अबको कम्तिमा पनि तीन दिन पानी पर्दैन । किसानले ढुक्कले धान काटेर थन्क्याउँदा हुन्छ ।’
महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । प्रविधिको विकाससँगै विगत केही वर्षयता महाशाखाले गरेको धेरैजसो मौसम पूर्वानुमान मिल्ने गरेको छ ।
मौसमविद् प्रधानांगले देशका हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात र पहाडी क्षेत्रका एक–दुई ठाउँमा छिटपुट पानी परे पनि धान खेती धेरै हुने तराई क्षेत्रमा अबका केही दिन वर्षाको सम्भावना नरहेको बताए । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
‘शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको थियो,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘शनिबार दिउँसोपख सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदलीको अवस्था भयो ।’