सोलुखुम्बुमा तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना, हेलिकप्टरविहीन बन्यो मनाङ एअर

सोलुखुम्बु कार्तिक ९, सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायो।

गएको असोज २७ गते शनिवार सोलुखुम्बुको लोबुचेमा मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँको हिजो बुधवार ज्यान गएको हो । मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेर घाइते हुनुभएका सेढाईँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै, यसअघि असार २६ गते सोलुखुम्बुकै लामाजुरामा भएको मनाङ एअरकै हेलिकप्टर दुर्घटनामा पाइलट चेतबहादुर गुरुङको ज्यान गएको थियो । मनाङ एअरको ९ एन–एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परि पाइलट गुरुङसहित ६ जनाको ज्यान गएको थियो । मेक्सिकन नागरिकहरू सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिकको ज्यानले दुर्घटनामा ज्यान गुमाएका थिए।

तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटनामा परेपछि अहिले मनाङ एअर हेलिकप्टरविहीन भएको छ । उसको उडान प्रमाणपत्र ९एअर अपरेटर सर्टिफिकेट० समेत नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।

मनाङ एअरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । प्राधिकरणले मनाङ एअरको वस्तुस्थितिको समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुने भुलले बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर