किनमेलका लागि सीमापारि जानेको संख्यामा बृद्धि


कोहलपुर बाँके कार्तिक ३
हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपईडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ ।

महान् चाड दसैँ शुरु भइसकेपनि नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामिनसक्नुछ ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा हेल्प डेस्कनै स्थापना गरेर उनीहरूलाई भन्सार राजस्व तिर्न लगाउन शुरु गरेको छ । तर, पनि किनमेलका लागि सीमापारि जाने नेपालीहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

भारतबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउनेहरूसँग नेपालगञ्ज भन्सार कार्यालयले नाकामा राजस्व असुलीमा कडाइ पनि शुरु गरेको छ । पछिल्लो समयमा भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याइरहेका छन् ।

सीमापारि सामान खरिदका लागि जाने नेपालगञ्ज, कोहलपुर, बासगढी र भुरीगाउँ लगायतका उपभोक्ताले भन्सार राजस्व तिरेर पनि रुपैडिहामा सामान सस्तो पर्ने गरेकोले उतैबाट ल्याउने गरेको जनाएका छन् ।

नाकामा भेटिनु भएका कोहलपुर १० का उपभोक्ता जीवन परियारले सीमापारिबाट चामल र चिनी लगायतका सामान ल्याएर भन्सार तिर्दा पनि नेपालगञ्ज र कोहलपुरभन्दा निकै सस्तो परेकोले ल्याएको बताए ।

उनले नेपालगञ्ज र कोहलपुरमा चाडपर्वको बेला व्यवसायीले मनपरी तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेकोले बाध्य भएर सीमापारि गएर सामान ल्याउनु परेको बताए । नेपाली उपभोक्तालाई सीमापारि जानबाट रोक्नका लागि नेपालमा उचित मूल्यमा सामान बिक्री गर्नु पर्ने परियारको सुझाव छ ।

नाकामा गएर हो हल्ला गर्दैमा वा हेल्प डेस्क राख्दैमा सीमापारिबाट हुने खरिदारी नरोकिने अधिकांश उपभोक्ताको भनाई छ । नेपालगञ्ज ११ का मुबारक सिद्धिकीले रुपईडिहाबाट ल्याएको धेरैजसो उपभोग्य सामानको भन्सार तिरेर ल्याउँदा पनि यहाँभन्दा सस्तो पर्ने गरेकोले आफूले राजस्व तिरेर चामल, दाल, चिनी लगायतका उपभोग्य सामान ल्याउने गरेको बताए ।

उनले नेपालगञ्जका व्यवसायीले मूल्य नियन्त्रण र एकरूपता नगरेसम्म यहाँको बजार सुनसान नै रहने बताए । चाडपर्व नजिकिएकोले अहिले रुपईडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । त्यहाँ जताततै नेपाली उपभोक्तानै देख्न सकिन्छ ।

रुपैडिहाका व्यवसायी दीपक अग्रवालले अहिले धेरै ठुलो सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आइरहेकोले एक मिनट पनि फुर्सद नपाइएको जनाउँदै अन्य दिनको तुलनामा अहिले तेब्बर भन्दा बढी बिक्री बढेको बताए ।

उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाउ र दाङ तथा सुर्खेतसम्मबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ताहरू यहाँ आइरहेको बताए ।

रूपईडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभएपनि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले अहिले त्यहाँ दैनिक ५ करोड भन्दा बढीको कारोबार हुने अनुमान गरेको छ ।

सीमापारिको बजारमा अत्यधिक भिड भएपनि हालसम्म नेपालगञ्जमा भने खासै चहल–पहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा चहलपहल नबढेको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताए । सोही प्रकारको भनाई नगरका अन्य व्यवसायीको पनि छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि नेपालगञ्ज सुनसान र सीमापारि भिडभाड कसरी भयो भन्ने कुराको अनुसन्धान गरिरहेको जनाएको छ । सङ्घका अध्यक्ष टङ्क धामीले भन्सारमा झनै कडाइ गर्नुपर्ने जनाउँदै नेपालगञ्जका व्यवसायीले सामानको के कस्तो मूल्य निर्धारण गरेका छन् त्यसको पनि अनुगमन गरिने बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर