कोहलपुरबाट मालपोत र नापीको सेवा सुरु


कोहलपुर बाँके कार्तिक

लामो समयको प्रतीक्षापछि कोहलपुरबासीले कोहलपुरबाटै मालपोत तथा नापी कार्यालयको सेवा पाएका छन् । बुधबारदेखि मालपोत तथा नापी कार्यालयका सेवा कोहलपुरबाट प्रारम्भ भएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पहिलो सेवाग्राहीलाई अनलाइन ९नेलिस० प्रणालीबाट प्रिन्ट गरिएको नक्सा हस्तान्तरण गरेर सेवाको सुरुवात गरेकी हुन् ।

नापीतर्फ कार्यालयका पहिलो सेवाग्राही बैजनाथ–६ का दलबहादुर वलीलाई अनलाइन प्र्रणालीबाट जग्गाको नक्सा र मालपोततर्फ कोहलपुरका धिरेन्द्रबहादुर विकलार्ई जग्गाको लालपुर्जा प्रदान गरिएको थियो । सेवा प्रारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले चुस्त दुरुस्त सेवा पाउने नागरिकको संविधानप्रदत्त अधिकार भएकाले कोहलपुरबासीको आग्रहमा नेपाल सरकारले सेवा आरम्भ गरेको बताइन् । उनले कोहलपुरबासीलाई बधाई दिँदै यस क्षेत्रका नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिइन् ।

यी शाखाहरूबाट आधुनिक प्रविधिको प्रयोग गरी कम्प्युटर प्रणालीबाट सेवा प्रदान गरिने पनि उनले जानकारी दिइन् । कतिपय कार्यालयहरूमा एनइएलआइएस ९नेलिस० र एलआरआईएमएस प्रणाली विकास भएकाले घरमै बसेर पनि नागरिकले जग्गा प्रशासनसम्बन्धी सेवा लिन सक्ने उनले जनाइन् । यी प्रणालीको विकासले जग्गा प्रशासनसम्बन्धी काम थप प्रभावकारी तथा विश्वसनीय हुने आशा पनि उनले व्यक्त गरिन् ।

आर्थिक वर्षको अन्त्यतिर कार्यालय स्थापनाको निर्णय भएकाले सेवा प्रारम्भ हुन समय लागेको उनले जानकारी दिइन् । ‘गत वर्ष कार्यालय उद्घाटन भए पनि बजेट विनियोजनमा कठिनाइ भएकाले सेवा प्रारम्भ गर्न कठिनाइ भयो,’ उनले भनिन् । ढिलै भए पनि सेवा सुभारम्भ भएकोमा उनले खुसी व्यक्त गरिन् ।

त्यसैगरी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद सूर्य ढकालले २० वर्षअघिको कोहलपुरबासीको सपना आज आएर पूरा भएको बताए । उनले कोहलपुरमा जग्गा प्रशासनसम्बन्धी थुप्रै समस्या रहेकाले मन्त्री र सचिवले त्यसलाई समाधानका लागि चासो दिन आग्रह गरे । उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई चाँडो लालपुर्जा उपलब्ध गराउन पनि आग्रह गरे ।

अर्का वक्ता बाँकेबाटै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद आशा विकले लामो समयपछि कोहलपुरबासीको सपना पूरा भएको बताइन् । कोहलपुरमै मालपोत र नापी कार्यालयका सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै कोहलपुरबासीलाई बधाई दिइन् । उनले अब कोहलपुरमा यातायात कार्यालय स्थापनाका लागि पहल गर्नुपर्ने बताइन् ।

त्यस्तै, कार्यक्रम प्रदेश सांसद कृष्णा केसी ९नमुना०ले कोहलपुरमा मालपोत तथा नापी कार्यालयबाट सेवा सुरु हुनु यहाँका बासिन्दाका लागि खुसीको कुरा भएको बताइन् । कार्यालय स्थापना हुँदै गर्दा यसवरपरका भाडा अस्वाभाविक रूपमा वृद्धि नगर्न सुझाव दिइन् ।

उनले बुटवलमा लुम्बिनी प्रदेशको अस्थायी राजधानी घोषणा भएपछि त्यहाँको भाडा दर अत्यधिक महँगो भएको आफ्नो अनुभव सुनाउँदै कार्यालयवरपरका भाडा अस्वाभाविक रूपमा वृद्धि नगर्न आग्रह गरिन् । उनले लालपुर्जा वितरणमा देखिएका कानुनीलगायतका गाँठा फुकाएर सहज बनाउन आग्रह गरिन् ।

अर्का लुम्बिनी प्रदेश सभा सांसद दुर्गाप्रसाद चौधरीले सबैको अथक प्रयासबाट कोहलपुरमा मालपोत तथा नापी कार्यालय स्थापना भएर सेवा आरम्भ हुन सकेकोमा खुसी व्यक्त गरे । कोहलपुर नगरपालिकामा थारू समुदायको बाक्लो बसोबास भएकाले चौधरी मन्त्री भएका बेला ती समस्या समाधान गर्न आग्रह गरे ।

त्यस्तै, लुम्बिनी प्रदेश सभाकी सांसद बसन्ती न्यौपानेले कोहलपुरका भूमिहीन सुकम्बासीलाई चाँडो लालपूर्जा उपलब्ध गराउन आग्रह गरिन् । लालपुर्जाको कुरा चुनावी नारा बन्ने गरे पनि भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउन नसकेको गुनासो गरिन् ।

त्यसैगरी लुम्बिनी प्रदेशकै सांसद सञ्जु चौधरीले पनि सुकुम्बासीलाई चाँडो लालपुर्जा वितरण गर्न माग गर्दै कार्यालयबाट प्रवाह गरिने सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताइन् । कोहलपुरमा एउटा पूरै वडा सार्वजनिक जग्गा भए पनि ती बासिन्दाले लालपुर्जा पाउन नसकेकोमा रोष प्रकट गरिन् ।
कोहलपुर नगरपाकिाका मेयर पूर्णप्रसाद आचार्यले कार्यालय उद्घाटन भएर लामो समयसम्म सेवा प्रवाह हुन नसक्दा विगतमा आफूहरूले निकै आलोचना खप्नुपरेको बताउँदै ढिलै भए पनि सेवा सुभारम्भ भएकोमा खुसी व्यक्त गरे ।

यी कार्यालय स्थापनासँग कोहलपुर नगरपालिकालाई अब भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणको दबाब पर्ने उनले बताए । त्यसैले उनले मन्त्री र सचिवलाई लालपुर्जा वितरणमा देखिएका कानुनी बाधा फुकाइदिन आग्रह गरे । उनले कोहलपुरमा यातायात कार्यालयको स्थापना पनि अत्यन्त जरुरी रहेको बताउँदै यातायात कार्यालयलाई भवन र जग्गाको व्यवस्था कोहलपुर नगरपालिकाले गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको सभापतित्व गरेका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सांसदहरूले उठाएका विभिन्न समस्याका बारे बोलेका थिए । उनले स्थानीय जनता र कर्मचारीको आपसी सहयोगबाट नै जग्गा प्रशासनसम्बन्धी कामलाई प्रभावकारी बनाउन सकिने धारणा राखे । उनले यहाँ देखिएका तमाम समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको जनाए ।

कार्यक्रमका अधिकांश वक्ताहरूले कोहलपुरमा अब यातायात, सिटिइभिटी जस्ता कार्यालय स्थापना गर्नु आवश्यक भएको बताएका थिए । उनीहरूले कोहलपुरबासी एकजुट भएर यस्ता कार्यालय स्थापनका लागि पहल गर्नुपर्ने उनीहरूको धारणा थियो । बाँकेको कोहलपुर, बैजनाथ, राप्तीसोनारीलगायतका पालिकामा जग्गासम्बन्धी विभिन्न समस्या रहेको उनीहरूको भनाइ थियो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनाल, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरालगायत विभिन्न पालिकाका प्रमुख उपप्रमुखको उपस्थिति रहेको थियो । टंकप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले स्वागत मन्तव्य राखेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर