दसैंका लागि तयार भए दुर्गाका मूर्ति


कोहलपुर बाँके असोज २७ ।
दसैंलाई लक्षित गरी नेपालगन्जमा दुर्गाको मूर्ति बनाउने मूर्तिकारलाई भ्याइनभ्याई छ । देवी दुर्गाको मूर्ति विभिन्न स्थानमा राखेर पूजाआजा गर्ने चलन भएकाले विभिन्न टोल समितिमा दुर्गापूजा समितिले दिएको अर्डरअनुसारका मूर्ति बनाउन नेपालगन्ज– ८ का बिनय लखेरलाई भ्याइनभ्याई छ । दसैं नजिकिएसँगै दुर्गाका मूर्ति बनाउन उनीलगायतका कलाकारहरू व्यस्त भएका हुन् ।

‘शुक्रबारसम्म ८० जनालाई फिर्ता गर्नुप¥यो । जति बनाए पनि मान्छेहरू लैजान्छन्,’ लखेरले भने, ‘धेरै पहिला अर्डर गरेकाहरूलाई बनाएर राखिदिएको छु ।’ लखेर ३५ वर्षदेखि नेपालगन्जमा निरन्तर मूर्ति बनाउने काम गरिरहेका छन् । अहिले त उनको परिवारका सदस्यले पनि सघाइरहेका छन् । उनी भन्छन्, ‘यो काममा मलाई सानैदेखि रुचि थियो । परिवारमा कसैले नगरे पनि मैले काम सुरु गरेको हुँ ।’ मूर्तिकला निर्माणमा राम्रै व्यापार गरिरहेको उनले बताए ।

मूर्तिका लागि अर्डर आउँछ । त्यो अर्डर पूरा गर्न हम्मेहम्मे पर्छ । नेपालगन्जमा बनेका मूर्ति बाँके, बर्दिया र कर्णाली प्रदेशसम्म पुग्ने गरेको लखेरले बताए । पहिला दसैं सुरु हुनुअघि भारतबाट मूर्तिकार नेपालगन्जमा आउने र अर्डरअनुसारको मूर्ति तयार गरी फर्कने गर्थे तर, अहिले भने नेपालगन्जमै स्थानीय मूर्तिकारले देवीको मूर्ति बनाउने गरेका छन् ।

केही मूर्तिहरू भने स्थानीयहरूले भारतबाट ल्याउने गरेका छन् । सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । यो काम सिजनल भएकाले अन्य समयमा कलाकारहरूले अन्य काम गर्दै आएका छन् । मूर्ति बनाउन चाहिने कच्चा पदार्थ खरिद गरी ल्याउनुपर्ने र मूर्ति बनाउन चाहिने माटो जहाँतहीँ नपाइने भएकाले समस्या हुने गरेको मूर्तिकारहरू बताउँछन् ।

दसैँमा मात्र बाँकेमा करिब १ हजारको हाराहारीमा देवी दुर्गाका मूर्ति स्थापना गरिने अनुमान गरिएको छ । केही वर्षअघि भारतबाट कारिगर आएर मूर्ति बनाउने गर्दथे भने अहिले नेपाली मूर्तिकारले आफैँ बनाउने गरेका छन् ।

भोलि आइतबार दसैंको घटस्थापनादेखि पूजा गर्ने गरेको माता दूर्गाको मूर्ति दसैंको एकादशीको दिन विसर्जन गर्ने गरिन्छ । बाँकेका प्रत्येक चोकमा दूर्गाको मूर्ति स्थापना गरी पूजाआजा गर्ने चलन पहिलेदेखि नै चलिआएको छ ।

घटस्थापनादेखि नवनिर्मित दुर्गाका मूर्तिहरू स्थापना गर्ने क्रममा ब्यान्डबाजासहित पूजा अर्चना गरी दुर्गा मूर्तिहरू स्थापना गरिन्छ । यसरी घटस्थापनामा राखिएका मूर्तिहरू दसैंको टीकाको भोलिपल्ट राप्ती नदी तथा बाँके बर्दियाको सिमाना मानखोलामा विर्सजन गर्ने गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर