जनताको बलिदानीबाट प्राप्त उपलब्धि रक्षा गर्नुपर्छ’


शिवानी विक, कोहलपुर बाँके असोज २५

समाजवादी जागरण अभियान लिएर देशव्यापी दौडाहामा निस्किएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ९नेकपा एस०को टोलीले बुधबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरेको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूको सो टोली मंगलबार साँझ कोहलपुर आइपुगेको थियो ।

बुधबारको सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनतासँग जोडिन चाहेकाले देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गरिएको बताए ।

देशभरिका जनतालाई आफ्नो पार्टीले लिएको समाजवादी विचारबारे जानकारी दिने र जनताका समस्या बुझ्ने कार्यक्रमको उद्देश्य रहेको उनले बताए । ‘हामी जनतासँग प्रत्यक्ष जोडिन चाहन्छौँ,’ अध्यक्ष नेपालले भने, ‘यो अभियानका माध्यमले हामी जनताका समस्या बुझ्न पनि आएका हौँ ।’ उनले आम जनतालाई आफ्नो अभियानमा समाहित हुन पनि आग्रह गरे ।

अध्यक्ष नेपालले वर्तमान सरकारले आम जनताका समस्या सम्बोधन गर्न नसकिरहेको आरोप लगाए । त्यसैले सरकारलाई जनताप्रति उत्तरदायी बन्न झक्झक्याउने पनि अभियानको उद्देश्य रहेको उनको भनाइ थियो । तस्करी, भ्रष्टाचार र असुरक्षाजस्ता कुराले जनतामा निराशा छाएको पनि उनले बताए ।

उनले जनताको यही निराशाको अवस्थाबाट कसैकसैले फाइदा लिन चाहिरहेको जनाउँदै त्यसप्रति सचेत हुन आग्रहसमेत गरे । ‘केही व्यक्तिहरू जनताको यही निराशाको फाइदा उठाउन खोजिरहेका छन् । तर हामी सचेत हुनुपर्छ ।’

जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उनले बताए । आम नागरिकको हरेक जनगुनासोलाई समाधान गर्नतर्फ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लागि परेको अध्यक्ष नेपालले बताए ।

कृषि नै देशको अर्थतन्त्रको मूल आधार भएको उनको भनाइ थियो । देशको समस्या समधान गर्न, रोजगारी प्रदान गर्न, आयआर्जन वृद्धि गर्नका लागि कृषि क्षेत्रलाई उच्च प्रथामिकता दिनुपर्ने उनले बताए । रोजगारीको विकास नगरी मुलुकको गरिबी उन्मूलन गर्न र समृद्धि हासिल गर्न नसकिने उनको धारणा छ । मौलिक अधिकारभित्र पर्ने शिक्षा, स्वास्थ्यजस्ता कुरा जनताले पाउन सके मात्र देशको संविधानको सही सम्मान हुने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेकपा एसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सामाजवादले मात्र मुलुकको गरिबी उन्मुलन गर्न सक्ने दाबी गरे । गरिबी उन्मूलन गर्नका लागि पुँजीवाद नभई समाजवादको बाटो हिँड्नुपर्ने उनको धारणा थियो । ‘समाजवादको बाटो हिँडेमात्र देशको गरिबी उन्मूलन गर्न सकिन्छ,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टी जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्दै गरिबी उन्मूलन गर्न समाजवादको बाटो अघि बढेको छ ।’

मुलुकमा देखिएको शैक्षिक अराजकता र बेरोजगारीको समस्याले गर्दा युवाहरू बिदेसिने क्रम बढेको उनले बताए । ‘यी सबै समस्या समाधान गर्न कृषि क्रान्ति र राष्ट्रिय औद्योगिकीकरण गर्नु आवश्यक छ,’ उनले भने, ‘जुन नेकपा एकीकृत समाजवादी पार्टीले मात्र गर्न सक्छ ।’ तीनखम्बे अर्थनीति अवलम्बन गर्दै औद्योगिक रोजगारीको सिर्जना गरी १० वर्षमा औद्योगीकरणको पहिलो चरण नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले पूरा गर्ने दाबी गरे ।

यस्तै, नेपाल नेकपा एसका महासचिव घनश्याम भुसालले जुन मुलुकमा राजस्वले कर्मचारी पाल्न नसक्ने अवस्था हुन्छ त्यो मुलुकले विकासको कुरा गरेर मात्र नहुने बताए । यतिबेला मुलुक संकटमा रहेको बताउँदै महासचिव भुसालले मुलुक संकटमा रहेका बेला समग्र इतिहासको प्रतिनधिका रूपमा जोकोही पनि अगाडि आउनुपर्ने बताए ।

‘मुलुकको त्यही संकट निवारणका लागि नै केही अहम् एजेन्डाका साथ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अगाडि बढेको हो,’ उनले भने । समाजवादी पार्टीले गरेका कमीकमजोरीका पाटालाई पनि उठान गर्न उनले आमजनतामा आग्रह गरे ।

पार्टीका उपमहासचिव प्रकाश ज्वालाले समाजवादी जागरण अभियान अभियानका लागि मात्र नभई जनतालाई जगाउन, सुसूचित गर्न र परिवर्तनका लागि समर्पित बनाउनका लागि सञ्चालन गरिएको बताए । ‘अब यो अभियान निरन्तर चलिरहनेछ,’ उनले भने, ‘समाजवादको लक्ष्य पूरा नभएसम्म यो रोकिँदैन ।’

कोहलपुर नगरपालिकाको चप्परगौढी, घुइयाबारी हुँदै सल्यान रुकुम जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट छुट्याई टेन्डर प्रक्रिया अगाडि बढिसकेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह–इन्चार्ज अब्दुल हुसेन खानले जनताको आवश्यकतालाई मध्यनजर गरी आमजनताको बीचमा समाजवादी जागरण अभियान यात्रा अगाडि बढेको बताए । जागरण अभियानमा जनसांस्कृतिक महासंघका कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर