खजुराद्वारा सुत्केरी पशु स्याहारका लागि २० लाख विनियोजन ।


कोहलपुर बाँके असोज २३

बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुचि बढ्न थालेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९र८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गत आवमा १ हजार १ सय १५ किसान गाईभैंसी सुत्केरी भएपछि प्रोत्साहन रकमका लागि गाउँपालिकाको सम्पर्कमा आएको जानकारी दिए ।

किसानले प्रतिपशु सुत्केरी भएपछि १ हजार ५ सय रुपैयाँ प्रोत्साहनस्वरूप प्राप्त गर्ने गरेका छन् । पशु सुत्केरी भएपछि सप्रमाण वडा कार्यालयको सिफारिसका आधारमा पशु शाखाले किसानलाई रकम उपलब्ध गराउने गरेको छ ।

चालु आवको साउन र भदौ महिनामा गाई र भैँसी सुत्केरी भएको प्रमाणसहित ४ सय किसान प्रोत्साहन रकमका लागि पालिकाको सम्पर्कमा आइसकेका छन् । ‘गत वर्ष पहिलोपटक कार्यक्रम सुरु भएका कारण पनि जानकारीको अभावमा किसानहरू छुटेका हुन सक्छन्, तर यस वर्ष अहिलेसम्मको तथ्यांक हेर्ने हो भने किसानको संख्या अधिक भएको छ,’ अध्यक्ष विकले भने ।

गत वर्ष पालिकाले प्रोत्साहनबापत रकम दिन थालेपछि किसानमा उत्साह थपिएको र समग्रमा पशुपालन गर्नेहरू बढ्दै गएको पालिकाले जनाएको छ । खजुरा गाउँपालिकाले चालु आवमा यो कार्यक्रमलाई निरन्तरता दिँदै २० लाख बजेट विनियोजन गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर