विवाह गर्न वडाको सिफारिस अनिवार्य

बर्दिया । असोज ९

बढैयाताल गाउँपालिका–४ मा विवाह गर्दा वडाबाट स्वीकृति लिएर मात्र विवाह गर्नुपर्ने भएको छ ।

बाल विवाह अन्त्य गर्नका लागि वडाले निर्णय गरेर कार्यान्वयन समेत गरेको हो । २० वर्ष पूरा भएको प्रमाणसहित निवेदन दिई वडाबाट स्वीकृति लिएर मात्र विवाह गर्न पाइने निर्णय लागू भएको वडाध्यक्ष नरे थापाले जानकारी दिए ।

‘सन् २०२५ सम्म गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्ने रणनीति छ,’ उनले भने, ‘वडाले कार्यान्वयन गरेको निर्णयको अवज्ञा गरी उमेर नपुगेका बालबालिकाको विवाह गर्नेरगराउनेलाई वडाले दिने सेवासुविधाबाट वञ्चित गरिनेछ ।’ बढैयाताल गाउँपालिकामा २६ प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले देखाएको छ ।

वडा नम्बर ४ मा २० प्रतिशत बालविवाह हुने गरेको वडाध्यक्ष थापाले बताए । २० प्रतिशतभन्दा कम सूचक भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न सकिने कानुनी प्रावधान छ ।

वडालाई छिट्टै बाल विवाहमुक्त गर्ने तयारी रहेकाले यस्तो निर्णय कार्यान्वयन गरेको अध्यक्ष थापाले बताए । यसअघि नै बढैयाताल गाउँपालिका वडा नंम्बर २, ३, ६ र ७ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर