खजुरा क्यान्सरमा बाल क्यान्सरको उपचार हुने

अशोज ८ कोहलपुर, खजुरा बाँके
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचार सेवा सुरु गर्ने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बाल क्यान्सर रोगको उपचार अगाडि बढाउने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई बाल क्यान्सरका लागि विश्व स्वास्थ्य सङ्गठनको साझा हेरचाह केन्द्र ९सेयर केयर सेन्टर०को रूपमा तोकेको अस्पताल विकास समितिका अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लका अनुसार पश्चिम नेपालमा रहेका क्यान्सर भएका बालबालिकाको सहज उपचारका लागि उपचार सेवा सुरु गर्न लागिएको हो । अस्पतालमा बाल क्यान्सरको उपचार सुरु गर्न विशेषज्ञ चिकित्सक राख्ने तयारी गरिएको जानकारी दिँदै अध्यक्ष मल्लले दसैँअघि नै बाल क्यान्सरको उपचार सेवा अस्पतालमा सुरु गर्ने जानकारी दिए ।

हाल अस्पतालमा उपचारका लागि आउने क्यान्सर भएका बालबालिकालाई चितवनलगायतका अन्य क्यान्सर अस्पतालमा रिफर गर्ने गरिएको छ । अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् । तीमध्ये बालबालिकासमेत उपचारका लागि आउने गरेको अस्पताल विकास समितिले जनाएको छ ।

खजुरा क्यान्सर अस्पतालमा पाठेघर, स्तन तथा थाइराईडलगायत शरीरका विभिन्न स्थानमा हुने क्यान्सरको उपचार हुनेगरेको छ । अस्पतालमा आउने जुनसुकैखाले क्यान्सरका बिरामीले सहज सेवा प्राप्त गर्न सक्नेगरी विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न खोजिएको अस्पताल विकास समितिले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर