नौबस्ता औद्योगिक क्षेत्र निर्माणकालागी एक हप्ताभित्रै टेन्डर आह्वान गरीने

८ असोज कोहलपुर बाँके , बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम तत्काल सुरु गर्ने निर्णय गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको अध्यक्षमा नेपालगन्जमा बसेको सर्वपक्षीय बैठकले बस्ती व्यवस्थापन गर्ने कार्य गर्नुका साथै तत्काल नै पूर्वाधार निर्माणको काम पनि सुरु गर्ने निर्णय गरेको छ ।

निर्माणका लागि एक साताभित्र नै टेन्डर आह्वान गरिने जनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले प्रस्तावित जग्गामा बसोबास गर्नेहरूले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका कारण यसअघि काम सुरु हुन नसकेको जनाउँदै जनप्रतिनिधि, उद्योग मन्त्रालयका अधिकारी, सांसद, व्यवसायीहरूको बैठकले नौबस्ता औद्योगिक क्षेत्रको नाममा रहेको खाली जग्गाबाट काम सुरु गर्ने निर्णय भएको बताए । उनले बैठकमा अब केही दिनभित्रै पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिने र काम सुरु भएसँगै बस्ती व्यवस्थापनको कामलाई पनि टुङ्ग्याउने निर्णय भएको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले सर्वपक्षिय बैठकको निर्णयलाई कार्यान्वयन गर्न सबै सरोकारवाला सहमत भएकोले छिटै निर्माण सुरु भई पूरा हुने आशा पलाएको बताए । उनले औद्योगिक क्षेत्रको निर्माण सुरु हुन नसक्दा व्यवसायमा निराशा छाएकोले तत्काल निर्माण सुरु गर्नुपर्ने बताए ।

दुई दिनअघि मात्रै नेपाल सरकारका उद्योग मन्त्री रमेश रिजाल नेपालगन्ज आएको बेला नेपालगन्ज उद्योग वाणिज्य सङ्घलगायत विभिन्न अन्य उद्योगी व्यवसायी र राजनीतिक दलका अगुवाहरुले नौबस्ता औद्योगिक क्षेत्र निर्माण तत्काल सुरु गराउन दबाब दिएका थिए । मन्त्री रिजालकै निर्देशनमा आयोजना गरिएको सर्वपक्षीय भेला र बैठकबाट निर्माण तत्काल सुरु गर्ने निर्णय गरिएको हो ।

सो भेलामा बाँकेका सङ्घीय र प्रदेश सांसदहरु, उद्योग वाणिज्य सङ्घहरु, उद्योगी व्यवसायी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो । नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ विघा क्षेत्रफल जमिनभित्रै २६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको जनाएको छ ।

सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि २ करोड र प्रशासकीय भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको थियो । तर काम सुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो । चालू आर्थिक वर्षमा ४५ करोड रुपियाँ विनियोजन गरिएको छ ।

नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ ३ सय उद्योग स्थापना हुनेछन् । ३५० बढी उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि आशयपत्र दर्ता गरिसकेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर