१६ घन्टा रणमैदान बन्यो बाल सुधार गृह

कोहलपुर बाँके असोज ६

बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहभित्र दुई समूहबीच बिहीबार राति झडप हुँदा एक जना थुनुवा किशोरको अनाहकमा ज्यान गएको छ । घटनामा १० जना बढी घाइते भएका छन् । उनीहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनामा अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिए ।
१६ घन्टापछि शुक्रबार दिउँसो साढे २ बजेमात्र सुरक्षाकर्मीहरूले बाल सुधार गृहभित्रको असहज परिस्थितीलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

२ सय ५४ जना रहेको उक्त बाल सुधार गृहका दुईवटा भवनमा दुवै पक्षले तोडफोड र आगजनी गरेका छन् । सादा पोसाकमा हतियारबिना सुरक्षामा बस्ने प्रहरीले लुकेर ज्यान जोगाएका थिए । दुई समूहमा विभाजित कैदीरबन्दी बिहीबार राति साढे १० बजेदेखि एकअर्काविरुद्ध जाइलागेको बाल सुधार गृहका इन्चार्ज विमला काउचामगरले जानकारी दिइन् ।

सुधार गृहमा रहेको पुरानो समूहले नयाँ समूहलाई दमन गर्ने, कुटपिट गर्ने, लागूऔषध प्रयोग गर्ने तथा यस्ता गतिविधि बाहिर आउन नदिन नयाँ समूहलाई धम्की दिनेजस्ता कारण दुई समूहबीच वादविवादपछि झडप भएको काउचामगरले बताइन् । सुधार गृहमा लागूऔषध कस्को मिलोमतोमा पुग्थ्यो र यति ठूलो घटनाको कारण बन्यो भन्ने बारेमा बाँके प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्ने जनाएको छ ।

‘पटक–पटक माथिल्लो निकायमा यहाँको अवस्थाको जानकारी गराउँदा पनि एक्सन नलिएका कारण यस्ता घटनाको पुनारावृत्ति भइरहेको देखिएको छ,’ सुधार गृहसम्बद्ध स्रोतको भनाइ छ, ‘नियमका कारण प्रहरी सादा पोसाकमा बिना हतियार बस्छन् । कैदी बन्दीले उनीहरूलाई बाहिर फोन गर्छु भनेर हैरान पार्छन् । नदिए प्रतिशोध साँधेर प्रहरीलाई नै निरीह बनाएका उदाहरण छन् ।’

डिएसपी डाँगीले घटनालगत्तै प्रहरी परिचालन गरी थप क्षति हुन नदिनका लागि प्रयास गरिएको बताए । प्रहरीले अधिक संयमता अपनाउँदासमेत शुक्रबार दिनभरजसो कैदीबन्दीले सुधार गृह आफ्नो नियन्त्रणमा राखेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, प्रहरी प्रमुख सन्तोषसिंह राठौर घटनास्थल पुगेर कैदीबन्दीलाई सम्झाएर शान्त बनाउने प्रयत्न गरिरहे ।

तर कुनै पनि कैदीबन्दी जिम्मेवार तरिकाले प्रस्तुत हुन सकेनन् भने उल्टो घरको छतबाट सिसा फाल्ने तोडफोड गर्नेजस्ता गतिविधि गरिरहे । करिब २ बजेतिर प्रहरी भित्र प्रवेश गरी बाल सुधार गृह आफ्नो नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइसकेपछि चोटपटक लागेकालाई उपचारका लागि अस्पताल पठाइएको थियो ।

सुधार गृहमा झडपमा संलग्न समूहहरू दुईवटा भवनमा भित्रबाट ताला लगाएर बसेका थिए । घटनास्थल वरपर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूले बाल सुधार गृहको झ्यालको सिसा फोर्नुका साथै कार्यालय, गाडी, मोटरसाइकल, कम्युटर, टिभी, प्रिन्टरलगायतका उपकरण तोडफोड गरेका छन् ।

पछिल्लोपटक लागूऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधार गृहमा रहेका अन्य व्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो । यसअघि माघ अन्तिम साता पनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको थियो । अपराध गर्दा नाबालिग भए पनि बालिग हुँदासम्म यहीँ बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेकोे पाइएको छ ।

बाल सुधार गृहमा ‘बालबन्दी’ भनिए पनि उमेरमा निकै ठूला र बयस्क पनि छन् । बयस्क उमेरकाहरूले त्यहाँ दादागिरी नै मच्चाउने गरेको बताइन्छ । पछिल्लो समय त्यहाँ लागूऔषध ओसारपसारमा संलग्न रहेका किशोरहरू पनि ल्याइएको थियो । यस्ता किशोरहरूको संख्या २० देखि २५ जना रहेको इन्चार्ज काउचामगरले बताइन् ।

उनीहरूकै दबदबाका कारण सुधार गृहमा अरू निरीह बन्दै आएको स्रोतले बतायो । लागूऔषध खाने, लुकिछिपी ओसार्नेहरूले त्यहाँ रहेका कसैलाई बोल्न नदिने, हिँडडुलसमेत गर्न नदिने भएपछि नखानेहरू एकजुट भएको दाबी गरिएको छ । इन्चार्ज काउचामगरका अनुसार कैदीबन्दीमा हामी बालख हौं, हामीलाई कसैले केही गर्दैन, कानुनले पनि हामीलाई छुन, चलाउन सक्दैन भन्ने भावना देखिन्छ । त्यसैले अराजकता मच्चाएको छ ।

बिहीबार रातिको झडपपछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्ये ३० जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो तर चार जना फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । झगडामा सामेल र उग्रता प्रदर्शन गरिरहेकाहरूलाई शुक्रबार नै हिरमिनिया र जमुनाह प्रहरी कार्यालय लगिएको छ । उनीहरूका विषयमा थप निर्णय हुन बाँकी छ ।

अपराधमा संलग्न भए पनि कलिलो उमेरका बालबालिका सुर्धेलान् भनेर बाल सुधार गृहमा राखे पनि त्यो झनै अपराधमा संलग्ने हुने ठाउँमा रूपमा परिणत भएको जानकारहरूको भनाइ छ । बिहीबार र शुक्रबारको दृश्यले त्यही प्रमाणित गरिदिएको उनीहरू बताउँछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर