उद्योगहरूको संरक्षण गर्न सरकार तयार छ स् मन्त्री रिजाल

शिवानी विक कोहलपुर बाँके असोज ५

उद्योगहरूको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताएका छन् । नेपाल इट्टा उद्योग महासंघको १५औँ वार्षिक साधारणसभाको बिहीबार कोहलपुरमा उद्घाटनमा गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

इट्टा उद्योगहरूको संरक्षण तथा प्रवद्र्धन गरी व्यवस्थित, मर्यादित र सुरक्षित उद्योगको रूपमा सञ्चालन गर्नका निम्ति नीतिगत र कानुनी सुधार गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

‘नेपालमा सञ्चालित इट्टा उद्योगहरूलाई संरक्षण र व्यवस्थित गर्न नीतिगत र कानुनी रूपमा के–के गर्न सकिन्छ, त्यो गर्न हामी तयार छौँ,’ मन्त्री रिजालले भने, ‘त्यसका लागि उद्योगीले पनि आफ्नो मर्यादा र व्यावसायिक निष्ठालाई भुल्नु भएन ।’

उद्योगी व्यवसायीले व्यावसायिक निष्ठालाई व्यवहारमा लागू गर्दै राज्यप्रतिको दायित्व भुल्न नहुने उनले बताए । ‘एकातिर इट्टा उद्योगलगायतका उद्योगहरूको प्रवद्धन गर्नुछ,’ उनले भने, ‘अर्कोतिर वातावरण संरक्षणमा पनि विशेष ध्याज दिन जरुरी छ ।’

इट्टा उद्योगीहरूले सरकारले तोकेको मापदण्डको पालना गर्ने, उत्पादनमा गुणस्तर कायम गर्ने, आर्थिक पारदर्शी पालना गर्ने, सामाजिक आचारसंहिता पालना गर्ने, श्रमिकहरूको सुरक्षा तथा बालश्रममुक्त उद्योग सञ्चालन गर्ने जस्ता कुरामा सचेत हुनुपर्ने उनले सुझाव दिए ।

इट्टा उद्योगीहरूले व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा उद्योग सञ्चालन गर्ने अपेक्षा आफूले लिएको उनले बताए ।

‘यसका लागि उद्योगीहरूले सरकारसँग समन्वय र समझदारी कायम गर्नु आवश्यक छ,’ मन्त्री रिजालले भने, ‘यसमा इट्टा उद्योगीहरूको सकारात्मक भूमिका हुने कुरामा म आशावादी छु ।’

नेपालमा मात्र नभएर विश्वमै इट्टा उद्योगहरूमा समस्या देखिएको मन्त्री रिजालको भनाइ छ । उक्त कार्यक्रममा बोल्दै नेपाल इट्टा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले माटोलाई इट्टाको आकारमा पकाएर मानव सभ्यातासँगै इट्टाको प्रयोग हुँदै आएको बताए ।

इट्टाको प्रयोग मानव सभ्यताको विकासक्रमसँगै भएको बताउँदै चन्दले यो आममानिसको जीवनशैली बनिसकेको बताए ।
इट्टा उद्योगी व्यवसायीहरूले सामाजिक उत्तरदायित्वसहित श्रमिकमैत्री र बालश्रममुक्त इट्टा उद्योग सञ्चालनमा ल्याएको दाबी पनि गरे । नेपाल इट्टा उद्योग महासंघले निःशुल्क रूपमा विदेशमा जिकज्याक प्रविधिको तालिम र प्रचारप्रसार सञ्चालन गरेको बताए ।

उनले पाकिस्तान सरकारको उदाहरण दिँदै पाकिस्तान सरकारले यो प्रविधि वातावारणमैत्री भएको भन्दै एक वर्षको अवधिमा पाकिस्तानका सबैले यो प्रविधिमा रूपान्तरण गरेर मात्र इट्टा उद्योग सञ्चालन गर्न पाउने निर्णय गरेको बताए ।

विदेशमा इट्टा उद्योगीहरूको सुरक्षा र सम्मान गरिने गरेको भए पनि नेपालमा भने उद्योगीहरूले त्यो महसुस गर्न नपाएको उनको गुनासो थियो । ‘आफ्नै लगानीमा सीप विकास गरेर विदेश जाँदा हामीलाई सम्मान गरिन्छ,’ उनले भने, ‘तर आफ्नै देशमा हामीले सम्मान पाउन सकिरहेका छैनौँ ।

अध्यक्ष चन्दले राज्यले तोकेका सम्पूर्ण मापदण्ड पूरा गरेर इट्टा उद्योगीहरू उद्योग सञ्चालन गरिरहेको दाबी पनि गरे । ‘प्रविधिमात्र होइन, हामीले सामाजिक उत्तरदायित्व र श्रमिकलाई दिनुपर्ने सेवासुविधासहित उद्योग सञ्चालन गरेका छौँ,’ उनले भने, ‘सरकारसँग थप सहकार्य गरेर अगाडि बढ्न पनि हामी तयार छौँ ।’

सो अवसरमा बोल्दै इट्टा उद्योग महासंघका संस्थापक अध्यक्ष तथा फेडेरेसन अफ एसियन ब्रिक क्लिन एसोसिएसनका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले यो व्यवसाय जनतासँग जोडिएको व्यवसाय भएको भन्दै उधारोमा चल्ने व्यवसाय नभएको बताए ।

अहिलेको अवस्थामा इट्टा उद्योगीहरूलाई बैंकले सताइरहेको भन्दै यस्ताखाले समस्यालाई राज्यले तत्काल समाधानमा जोड दिनुपर्ने धारणा राखे ।

नेपाल इट्टा उद्योग महासंघ लुम्बिनी प्रदेशका संयोजक थालेश्वर घिमिरेले लुम्बिनी प्रदेशमा मात्र २ सय ५१ वटा इट्टा भट्टा रहेको र ती सबै बन्द हुने अवस्थामा पुगेको जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल इट्टा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद अवालले सबै उद्योगी व्यवसायी एकजुट भएर यो उद्योगमा देखिएका समस्या समाधान गर्न लाग्नुपर्ने बताए । साधारणसभामा देशभरिबाट ४ सय जना प्रतिनिधिहरूको उपस्थित रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर