शिक्षक आन्दोलनले पठनपाठन ठप्प

कोहलपुर बाँके आसोज ५
शिक्षकहरू आन्दोलनमा उत्रिँदा बाँकेसहित देशभरका सबैजसो सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि पठनपाठन ठप्प भएको छ ।

सरकारले प्रतिनिधिसभामा पेस गरेको विद्यालय शिक्षा विधेयक–२०८० को विरोधमा शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि बिहीबारदेखि अनिश्चितकालका लागि पठनपाठन ठप्प भएको हो ।

बुधबारदेखि नै शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न सरकारलाई दबाब दिइरहेका छन् ।

काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी नभएका शिक्षकहरू बिहीबार आफ्नो पालिकामा पुगेर धर्ना दिएका थिए । बाँकेका कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिकालगायतका पालिकामा सामुदायिक विद्यालयका शिक्षकहरूले धर्ना दिएका थिए ।

आन्दोलनरत शिक्षकहरूले सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा असहमति राखेका छन् ।

नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष रामप्रसाद चापागाईले बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नगरपालिका परिसरमा शिक्षकहरूले नाराबाजी गर्दै विरोध जनाएको बताए । उनले विगतको सहमतिअनुसार विधेयक नआएको भन्दै विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका प्रावधानमा संशोधन गर्नुपर्ने माग आफूहरूको रहेको दाबी गरे ।

कोहलपुर नगरपालिका परिसरमा शिक्षकहरूले गरेको आन्दोलनलाई नगर प्रमुख पूर्णप्रसाद आचार्यलगायतका जनप्रतिनिधिहरूले ऐक्यबद्वता जनाएका थिए । विरोध सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरूको आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै अहिले सरकारले संसदमा पेस गरेको विधेयक सच्याउनुपर्ने बताए ।

शिक्षकहरूको आन्दोलनका कारण बिहीबार बाँकेका कुनै पनि सामुदायिक विद्यालयहरू सञ्चालनमा आएनन् । विद्यार्थीहरू विद्यालय पुगे पनि विद्यालय नखुलेपछि उनीहरू घर फर्किएका थिए । शिक्षा विधेयकमा सुधार नभएसम्म आन्दोलन फिर्ता नहुने नेपाल शिक्षक महासंघले यसअघि नै बताइसकेको छ । शिक्षकहरूको आन्दोलनका कारण बिहीबारदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीहरूको पठनपाठन ठप्प भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर