पूर्व–पश्चिम राजमार्गमा द्वन्द्वकालीन समयमा राखिएको शक्तिशाली माइन विस्फोट

कोहलपुर, बाँके ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी नयाँगाउँ नजिकै राजमार्गमा शक्तिशाली विस्फोट भएको छ । आइतबार बिहानपख मुख्य सडकको एक भागमा शक्तिशाली विस्फोट गएको हो ।

ढकेरी चोकदेखि तीन किलोमिटर पूर्वतर्फ शक्तिशाली विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिए ।

सडकमुनि विस्फोट भएपछि सडकमा ३ फिट गहिरो र ४० फिट गोलाइ भएको खाल्डो परेको थियो । डिएसपी डाँगीका अनुसार आइतबार बिहानमात्र सडकमा ठूलो खाल्डो परेको खबर आएपछि प्रहरी पुगेको जानकारी दिए ।

‘बिहानै सडकमा खाल्डो परेको जानकारी आएपछि प्रहरी पुगेको थियो । शंकास्पद देखिएपछि नेपाली सेनालाई समेत हामीले खबर गरेका थियौं,’ उनले भने, ‘नेपाली सेना र कोहलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

प्रारम्भिक अनुसन्धानबाट द्वन्द्वकालीन समयमा जमिनमुनि राखिएको विस्फोटक पदार्थ विस्फोट भएको हुनसक्ने देखिएको डिएसपी डाँगीले मिसन टुडेलाई जानकारी दिए ।

विस्फोट भएको स्थलमा पुगेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुन्दर तिवारीले द्वन्द्वकालीन समयमा राखिएको माइन विस्फोट भएको बताए ।

विस्फोट स्थलमा भेटिएका तार, चुनजस्तो धुलोलगायतका कारण पनि त्यसलाई पुष्टि गर्ने उनी बताउँछन् । ‘द्वन्द्वकालीन समयमा राखिएको बम वा माइन विभिन्न कारणले विस्फोट भएको देखिन्छ,’ उनले भने, ‘विस्फोट के कारणले भयो भन्ने कुरा चाहिँ अनुसन्धानबाट खुल्ला । पहिला नै सडकमुनि राखिएको माइन विस्फोट भएको हो ।’

माइन विस्फोट भएको स्थलबाट प्रहरीले तार, चुनजस्तो धुलोसहित २०५६र०५७ साल लेखिएको दालमोटको खोलसमेत फेला पारेको छ ।
शक्तिशाली माइन विस्फोटको समयमा सो क्षेत्रमा कुनै सवारी साधन नभएकाले मानवीय क्षति भने नभएको कोहलपुरका डिएसपी तिवारीले जानकारी दिए ।

‘विस्फोटबाट आसपासमा भएको क्षति हेर्दा कुनै सवारी साधन परेको भए, ठूलो क्षति हुने सम्भावना थियो,’ उनले भने, ‘रातको समयमा भएकाले पनि विस्फोटको समयमा कुनै सवारी साधन नआउँदा ठूलो क्षति टरेको छ ।’

यसबारे इलाका प्रहरी कार्यालय कोहलपुर र नेपाली सेनाले अनुसन्धान अगाडि बढाएका छन् । माइन विस्फोट हुँदा पूर्व–पश्चिम राजमार्ग आइतबार अपराह्नसम्म एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएको थियो ।

सडक विभागले सडक मर्मत गरेपछि अपराह्नपछि भने राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर