आज राष्ट्रिय सूचना दिवस मनाइदै, सूचनाको हक कार्यान्वयनमा जिम्मेवार बन्न आह्वान

काठमाण्डौ, ३ भदौ ।

आज राष्ट्रिय सूचना दिवस मनाइँदैछ । नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भइ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ  । राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गरी सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नरगराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ । सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नरगराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने प्रतिबद्धता पत्रमा उल्लेख छ  । नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्त्वपूर्ण रहेको र यसको प्रयोग दिनानुदिन बढ्दै गएको आयोगको भनाइ छ । दिवसका अवसरमा शुभकामना व्यक्त गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको महत्त्वपूर्ण अधिकारका रूपमा सूचनाको अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भए पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन नसकेको बताउनुभएको छ ।

उहाँले कुनै पनि लोकतान्त्रिक व्यवस्थामा नागरिक अधिकारका रूपमा सूचनाको अधिकार सुनिश्चित गर्नुको अर्थ राज्यका विभिन्न अङ्ग राजनीतिक दल, सङ्घ संस्थासहित हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी र खबरदारी बढाउनु रहेको बताउनुभयो । उहाँले नागरिक र सार्वजनिक निकायलाई सूचनाको हकप्रति थप क्रियाशील रहन आह्वान समेत गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले सुशासन कायम गरी देशलाई समृद्धिको बाटोमा लैजान यसको प्रयोग महत्त्वपूर्ण हुने भएकाले सबै सार्वजनिक निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ । आयोगले गएको आर्थिक वर्ष २०७९र८० मा ९९ प्रतिशत उजुरी फर्स्योट गरेको पनि जनाएको छ । गएको वर्ष आयोगमा एक हजार ६८ पुनरावेदन र छ वटा उजुरी प्राप्त भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९र८० मा सूचना उपलब्ध नगराउने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई जरिबाना गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर