जबरजस्ती करणी मुद्दामै कैद भुक्तान गरिरहेका कैदीद्वारा कारागारभित्र अर्काे बलात्कार !

दाङ तुलसीपुर कारागारका एक कैदीबन्दीमाथि जबरजस्ती करणी भएको छ। १७ कात्तिकमा तुलसीपुरस्थित कारागारमा तुलसीपुर–६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले कैदी महिलामाथि करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

प्रहरी निरीक्षक पर्वत केसीका अनुसार तुलसीपुर कारागारमा जबरजस्ती करणीमा कैद भुक्तान गरिरहेका चौधरीले ती कैदीमाथि करणी गरेका हुन्। महिला कैदी र पुरुष दुबै कारागारका चौकीदार हुन्। 

‘चौकीदार भएकाले उनीहरु एक अर्कासँग सहजै भेटघाट गर्न सक्छन्। कात्तिक १७ गते दिउसो २ः१० मा महिला भान्सामा भाडा माझ्दै थिइन्।’, प्रहरी निरीक्षक केसीले भने ‘त्यही क्रममा चौकीदार चौधरी भान्सामै बाहिरबाट चुकुल लगाएर  जबरजस्ती करणी गरे।’ 

पीडित महिलाले सोही दिन नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन्। जाहेरी दिएपछि १८ कात्तिकमा सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो। 

चौधरीलाई ७ देखि १० वर्षसम्म कैद थप हुन सक्ने कानुनी व्यवस्था छ। पीडित बैंकिङ कसुरमा कैद भुक्तान गरिरहेकी छन्। यो केसपछि पीडक चौधरीलाई घोराही कारागार सारिएको छ। तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि चौधरीलाई दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर