राप्तीमा जग्गाको नाप नक्सा गर्ने कार्य सुरु

दाङ १३ माघ ।

दाङको राप्ती गाउँपालिकाले जग्गाको नाप नक्सा गर्ने कार्य सुरु गरेको छ । पालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाको वडा नम्बर २ मुक्तिनगरबाट जग्गाको नाप नक्सा गर्ने कामको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुवात गरेका छन् । सो अवसरमा बोल्दै आयोगका जिल्ला अध्यक्ष रेग्मीले गैर सुकुम्बासीलाई जग्गा नदिइने बताउँदै वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जग्गा नापजाँच कार्य पछि वर्षै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । उक्त कार्यमा सबैको साथ र सहयोगको आवश्यकता हुनु पर्ने बताए । निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै उनले जग्गा नापजाँच गरि वास्तविक सुकुम्बासीहरुलाई मात्र लालपुर्जा वितरण गर्नु पर्ने बताए ।

हाल राप्ती गाउँपालिका भरि ५ सय ६७ जना भूमिहिन तथा सुकुमबासीहरू रहेका छन् । जसमध्ये ३ हजार ७ सय ५८ अब्यबस्थित बसोबासी, ५ सय ६७ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित गरी कुल ४ हजार ५ सय ४५ जना अव्यवस्थित बसोबासी, भूमिहिन र सुकुमबासी रहेको राप्ती गाउँपालिका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर